धरान: मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका प्रदेश नं १ का तीन जना सांसदले फिर्ता लिएका छन् ।

सांसदहरु जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिएका हुन् । तीनै जना सांसद झापा जिल्लाका हुन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै अविश्वासको प्रस्तावमा भएको हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका हुन् । तीनै जना सांसदहरुद्धारा जारी विज्ञप्तीमा नेकपाकै सरकार विरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको भन्दै फिर्ता लिएको जनाएका छन् ।

jasmaya-gajmer

अविश्वासको प्रस्तावको हस्ताक्षर फिर्ता लिने सांसद गजमेर प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री पनि थिइन् । अन्य मन्त्रीसँगै राजिनामा दिएर उनी प्रचण्ड माधव समुहमा उभिएकी थिइन् । तीन जना सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिएसँगै प्रचण्ड-माधव समुह थप संकटमा परेको छ भने मुख्यमन्त्री बन्ने नेता भीम आचार्यको सपनामा पनि झट्का लागेको छ । प्रचण्ड माधव समुहले मुख्यमन्त्रीमा आचार्यको नाम प्रस्ताव गरेको छ । 

मुख्यमन्त्री राईविरुद्ध नेकपाका प्रचण्ड माधव समुहका ३७ जना सांसदहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तटस्थ रहदासम्म यो संख्या मुख्यमन्त्री राईको सरकार ढाल्न पर्याप्त होइन । कुल ९३ सदस्यीय प्रदेशसभामा सभामुख र उपसभामुखबाहेक रहेको ९१ सदस्यीय सभामा बहुमत पुर्याउन ४७ जना सांसदहरु चाहिन्छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको ३७ जना मध्ये यसअघि नै कला घले र बसन्तीदेवी यादवले हस्ताक्षर फिर्ता लिएको घोषणा गरिसकेका थिए । योसँगै अब अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको संख्या ३२ मा सिमित भएको छ ।abiswas