विराटनगर: जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पुष महिनाको सर्वोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ दि मन्थ) घोषित भएका छन् ।

अपराध अनुसन्धानमा विशेष योगदान पुर्‍याएको, साथै चोरी, अवैध लागुऔषध कारोबारी लगायत विभिन्न अपराधिक घटनाका फरार प्रतिवादी पक्राउ गरेर कानुनी दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका नायक “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित भएका हुन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेर उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरी १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भमा राखिने गरिएको छ भने १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आईएको छ ।