धरान: सुनसरीको दुहबीमा आज दिउँसो भएको सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

दुहबी १० स्थित दुहबी इनरुवा भित्री सडकखण्डमा माइक्रो र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किएको इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुहबीबाट इनरुवातर्फ जादै गरेको प्र १-०२-००१ ज ३८६८ न. को विङगर माइक्रो र विपरीत दिशाबाट आइरहेको को ३४ प ४६९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । मध्याह्न करिब साढे १२ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक इनरुवा ३ का ४४ बर्षीय बिर्ख मण्डलको मृत्यु भएको छ । यस्तै, माइक्रो सहचालक राजविराज १ सप्तरीका करिब २०, २२ बर्षका शंकर यादवको पनि मृत्यु भएको छ । उनको विराट नर्सिङ होममा उपचारको क्रममा सवा ३ बजेतिर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । अर्का एक जना मृतकको भने सनाखत हुन नसकेको छैन ।

अन्य १० जना घाइतेहरुको जीवन ज्योति मेडिकल हल दुहबीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । माइक्रो चालक फरार रहेको र उनको खोजी भइरहेको प्रदेश ट्राफिक प्रहरीको भनाई छ । दुर्घटनामा विराटनगर १४ का ५२ बर्षीय जयनारायण यादव, सप्तरी मान्सापुरका ६० बर्षीया इन्द्रकला देवी सिं, सप्तरी राजविराज ७ का १४ बर्षीय निरज यादव, इनरुवा ७ का ५२ बर्षीय चन्द्र मेहता, राजविराज ७ का ३८ बर्षीय सुरेश मण्डल सामान्य घाइते भएका छन् । यस्तै, भोक्राहा नरसिंङ ३ का १९ बर्षीय प्रशान्त यादव, बराहक्षेत्र १० का २३ बर्षीय भरत यादव, इनरुवा ८ की ५२ बर्षीय शान्ति मेहेता, इनरुवा ३ का ३० बर्षीय मनोज अधिकारी र इनरुवा ३ का प्रसंशा सुवेदी पनि सामान्य घाइते भएका छन् ।