धरान: पित्तथैलीमा पत्थरी भएकी इटहरीकी ३१ बर्षीया दीपा राईको धरान १० स्थित विजयपुर हस्पिटलमा अप्रेसन भएको थियो । अप्रेसन पछि थप उपचारको क्रममा रहेकी उनको मृत्यु भएपछि मृतक परिवारले डाक्टरविरुद्ध प्रहरीमा जाहेरी दर्ता दिएका छन् ।

अप्रेसन पछि नै निरन्तर पेटभित्र रक्तस्राव भएको र उनको शल्यक्रियामै लापरवाही भएको भन्दै मृतकका श्रीमान राजेन्द्र राईले डाक्टरविरुद्ध मंगलबार प्रहरीमा जाहेरी दिएका हुन् । विजयपुर हस्पिटलका डाक्टर गजेन्द्रप्रसाद दासविरुद्ध आएको जाहेरी ईलाका प्रहरी कार्यालय धरानले दर्ता गरिएको जनाएको छ । डिएसपी ज्ञानेन्द्र बस्नेतले डाक्टरले लापरवाही गरेकोले मृत्यु भएको भन्ने जाहेरी आएको र दर्ता गरिएको बताए । उनले भने,‘डाक्टरविरुद्ध जाहेरी आएको थियो, दर्ता भएको छ । अनुसन्धान गछौं ।’

मृतक राईले करिब एक महिनादेखि नै विजयपुर हस्पिटलमा उपचार गराइरहेकी थिइन् । उनलाई माघ ४ गते भर्ना गरेर अप्रेसन गरिएको थियो । अप्रेसन पछि अब्जरवेसनमा राखिएकी राईको रक्तस्राव भइरहेको उनका श्रीमान्ले जाहेरीमा उल्लेख गरेका छन् । रक्तस्राव भइरहेकोले ३ पाउण्ड रगत पनि चढाइएको र स्थिति गम्भीर भएपछि सोमबार राती डाक्टर दासले नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका थिए । डाक्टर दासले वीपीमा सिनियर डाक्टर छन् भनेर आफैले एम्बुलेन्स बोलाएर पठाएको जाहेरीमा उल्लेख छ ।

प्रतिष्ठानमा तत्काल सर्जरीको शल्यक्रिया कक्षमा सघन उपचार थालिए पनि विरामीको पेटभित्र धेरै रगत बगेको र नरोकिए शल्यक्रिया गर्न नसकिने जानकारी गराएको उनको भनाई छ । राती शल्यक्रिया गर्न नपाई नै आफ्नो श्रीमतिको मृत्यु भएको उनले जाहेरीमा उल्लेख गरेका छन् । उनले शल्यक्रिया गर्ने विजयपुर हस्पिटलका डाक्टर दासले हेल्चेक्राई र लापरवाही गरेको, श्रीमतिको जीवन अन्तिम अवस्थामा पुगेपछि मात्र वीपी प्रतिष्ठान लैजानु भनेर थप लापरवाही भएर नै अनाहकमा ज्यान गुमाउनु परेको भन्दै कानुन वमोजिम कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

हस्पिटलका निर्देशक प्रभाव खतिवडाले अप्रेसनमा लापरवाही नभएको दाबी गर्दै अब्जरवेसनमा अचानक मुटूको समस्या देखिएपछि वीपी प्रतिष्ठान रिफर गर्नुपरेको बताए । अप्रेसन अघि र पछिको सबै डकुमेन्टहरु अध्ययन गर्दा र पोष्टमार्टमको रिपोर्टबाट धेरै कुरा थाह हुने उनले बताए । अप्रेसन चिरेर नभै दुर्विन प्रबिधिबाट गरिएको उनले बताए । ‘अप्रेसन अघि र पछि पनि सामान्य अवस्था नै थियो, तर अचानक मुटूको समस्या देखिएकोले वीपीमा पठाएका हौं,’उनले भने । मृतक पक्षले प्रहरीमा जाहेरी दिइसकेकोले आवश्यक छानबिन हुने पनि अपेक्षा व्यक्त गरे । उनले भने,‘जाहेरी प्रहरीमा पुगेको छ, आवश्यक छानबिन हुन्छ । दोषी देखियो भने डाक्टर कारबाहीको भागीदार हुन्छ, भएन भने घटनालाई भवितव्य मान्नुपर्ने हुन्छ ।’

doc-ujuri1 doc-ujuri2