धरान: धरानको वडा नं १६ का एक व्यक्तिले आज बिहानै धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा झुण्डिएर आत्महत्या गरेका छन् ।

करिब ६० बर्षीय धरान १६ जोरसखुवा निवासी भोजराज पुरीले रुखमा डोरीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । घाँस काट्न गएका २ जना महिलाले मानिस रुखमा झुण्डिएको देखेपछि वन समुहका पदाधिकारीहरुलाई खबर गरेका थिए । वन समुहका उपाध्यक्ष हरि तामाङका अनुसार हरियालीको १ नम्बर गेटदेखि करिब २ किलोमिटर दक्षिण जंगलमा पुरी झुण्डिएको अवस्थामा थिए । नाइलनको नयाँ डोरीमा झुण्डिएको, ज्याकेट, उनीको टोपी र मास्क पनि लगाएको अवस्थामा मृतक पुरी रहेको उनले जानकारी दिए ।

प्रहरीले घटनाबारे जानकारी पाएपछि आवश्यक खोजी गर्दा झुण्डिएका व्यक्ति धरान १६ निवासी ६० बर्षीय पुरी रहेको पत्ता लागेको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले अवाश्यक कानुनी प्रक्रिया पुरा गरेर शव पोष्टमार्टम भइरहेको जानकारी दिए । ‘अनुसन्धान र कानुनी प्रक्रिया पुरा गरेर शवको पोष्टमार्टम भइरहेको छ, त्यसपछि परिवारको जिम्मा लगाइन्छ,’उनले भने । परिवारमा हिजो सामान्य विवाद भएको र आज बिहानै उठेर घरबाट हिडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी बस्नेतले बताए ।