धरान: मारवाडी महिला मञ्च, धरानले आज धरान १५ स्थित हरे राम कृतन कुञ्जमा ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको छ ।

कुञ्जमा १० जना ज्येष्ठ नागरिकहरु आश्रित छन् । त्यसबाहेक पनि वडा नं. १५ का थप १५ जना ज्येष्ठ नागरिकहरुलाई मञ्चले कपडा र खाद्यन्न वितरण गरेको मञ्चकी सदस्य सीमा तोदीले जानकारी दिइन् । उनका अनुसार कुल २५ जना ज्येष्ठ नागरिकहरुलाई ब्लाङ्केट, स्विटर, टोपी, मोजा, टाउजर, माक्ससँगै बाल्टि, मग वितरण गरिएको छ । यस्तै, खाद्यन्न सामग्रीहरुमा आटा २५ केजी, भुजा २५ केजी, चिउरा २५ केजी, चाउचाउ, विस्कुट लगायतका खाद्यान्न सामग्रीहरु पनि वितरण गरिएको उनले बताइन् । मारवाडी समुदायबाट यी सामग्रीहरु संकलन गरि वितरण गरेको उनको भनाई थियो ।

marwadi1

मञ्चले बर्षेनी माघे संक्रान्तिको अवसरमा विभिन्न स्थान रहेका अतिआवश्यक व्यक्तिहरुलाई आवश्यक सामग्रीहरु वितराण् गर्दै आएको छ । समाजसेवी दुर्गा काफ्ले मार्फत हरेराम कृतन कुञ्ज र त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरुबारे जानकारी पाएपछि न्यानो कपडा र खाद्यान्न वितरण गरिएको मञ्चकी अध्यक्ष अनिता अटलले बताइन् । आगामी बर्षहरुमा पनि यसरी नै माघे संक्रान्तिको अवसरमा सामाजिक कार्यलाई निरन्तरता दिइने उनको भनाई छ ।

धरान १५ निवासी ८१ बर्षीय मनमाया नेपालले मारवाडी महिलाहरुबाट न्यानो कपडा र खाद्यान्न सामग्री पाएकोमा खुसी ब्यक्त गरिन् । हरेराम कृतन कुञ्जमा ४० वर्ष देखि ८४ वर्षसम्मका १० जना ज्येष्ठ नागरिकहरु छन् । विगत १८ बर्षदेखि कुञ्जमा बस्दै आएकी ६३ वर्षकी देवी कार्कीले डेढ दशकको समय थाहै नपाई बितेको बताइन् । यो मन्दिर दाताहरुको सहयोगबाट नै चलिरहेको भन्दै उनले धरानेहरुको मायाले नै कोरोनाको महामारीमा पनि आफुहरु भोकै बस्नु नपरेको सुनाइन् ।