धरान: वडाअध्यक्षको निर्देशनमा धरानको ५ नम्बर वडा कार्यालय दुई दिनदेखि बन्द रहेको पाइएको छ ।

वडा कार्यालय बन्द भएपछि वडाका बासिन्दाहरुको काम ठप्प भएको छ भने कर्मचारीहरु घाम तापेर समय बिताइरहेका छन् । वडामा अधिकृतस्तरको वडा सचिव नहुँदा आर्थिक प्रशासनको काम ढिलासुस्ती भएकोमा अध्यक्ष सन्तोष लिम्बु असन्तुष्ट छन् । वडाका सचिव राम पौडेल सुब्बास्तरका मात्र कर्मचारी हुन् । त्यसैले उपमहानगरपालिकाले वडा नं ६ का अधिकृतस्तरका वडा सचिव तुलसी आचार्यलाई नै वडा ५ को पनि आर्थिक प्रशासनको जिम्मेवारी दिएको छ । वडा ६ का सचिव आचार्यले समय दिन नसक्ने भएर योजनाहरुको सम्झौता, पुरा भएको योजनाको भुक्तानी, फरफारक तथा फछ्यौटमा ढिलाई भइरहेकोमा वडाअध्यक्ष लिम्बुको चर्को असन्तुष्टी छ ।

वडा अध्यक्ष लिम्बुले मेयर, प्रमुख प्रशासकीय अधिकृतसँग योजना सम्झौता, फरफारकलगायतमा भइरहेको ढिलाई र समस्याबारे धेरै पटक कुरा गरे पनि समाधान नभएको वडाका कर्मचारीहरु बताउँछन् । त्यसैले उपमहानगरपालिकालाई दबाब दिनको लागि कार्यालय नै बन्द गर्न निर्देशन दिएको कर्मचारीहरुको बुझाई छ । वडा नं ५ का सचिव पौडेलले आफु सुब्बास्तरको कर्मचारी भएकोले दैनिक प्रशासनिक अधिकार मात्र आफुसँग रहेको बताए । अहिले धरान उपमहानगरमा वडालाई पनि आर्थिक कारोबारको अधिकार दिएको र उक्त कारोबार अधिकृतस्तरको कर्मचारी (सचिव)लाई मात्र छ । त्यसैले वडा ५ का सचिव पौडेलले आर्थिक प्रशासन हेर्न पाउदैनन् । ‘अध्यक्षबाट कार्यालय बन्द गर्ने निर्देशन भएकोले हिजोदेखि बन्द छ, हामी प्रांगणमा बसेर काम लिएका आउनुभएका सेवाग्राहीहरुलाई सम्झाईबुझाई पठाइरहेका छौं,’पौडेलले भने ।

वडाअध्यक्ष लिम्बुसँग सम्पर्क प्रयास गर्दा उनको मोवाइल स्वीच अफ थियो । यो बिषयमा वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले वडाअध्यक्षको निर्देशनमा कार्यालय बन्द भएको जानकारी आएपनि कारण थाह नभएको बताए । यो बिषयमा मेयरलाई जानकारी गराइसकेको पनि उनले बताए । मेयर राईले भने वडा कार्यालय बन्द भएकोबारे अनभिज्ञता प्रकट गरे । उनले सबै वडामा अधिकृतस्तरको कर्मचारी नपुग्ने भएकोले नजिकको वडा नं ६ कै सचिवलाई त्यहाँको पनि आर्थिक प्रशासन हेर्ने जिम्मेवारी दिएको र त्यसैमा वडाअध्यक्षको गुनासो रहेको बताए । ‘वडा कार्यालय बन्द भएको जानकारी आएको छैन, म भोली बुझ्छुँ,’मेयर राईले भने,‘सबै वडामा अधिकृतस्तरको सचिव पठाउन सकेनौं, त्यसैले नजिकको वडाका सचिवले हेर्ने गरि व्यवस्था गरिएको थियो । यो समस्या चाडै समाधान गछौं ।’