काठमाण्डौं: कोभिड १९ विरुद्धको १० लाख डोज खोप आज(बिहिबार) नेपाल आइपुग्ने भएको छ ।

भारत सरकारले अनुदानका रुपमा दिन लागेको खोप आज नेपाल आइपुग्ने भएको हो । हिजो बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्दै १० लाख डोज खोप उपलब्ध हुनेबारे जानकारी दिएका थिए । उक्त खोप इन्डियन एयरलाइन्सको विमानमार्फत आज नेपाल आइपुग्नेछ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले खोप ल्याउन प्रशासनिक, कानुनी, प्राविधिक तथा आर्थिक कुनै पनि प्रक्रिया बाँकी नरहे जानकारी दिएका थिए । ती खोप पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने व्यक्तिहरुलाई दिइने मन्त्रालयले जनाएको छ । मन्त्री त्रिपाठीले अर्को सातादेखि खोप दिन सुरु गरिने पनि बताए ।

यो खोप प्रतिव्यक्ति दुई डोज दिनुपर्ने हुन्छ । त्यसैले पहिलो चरणमा पाँच लाखजतिले मात्र खोप पाउने स्थिति रहेको मन्त्रालयको भनाई छ । नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य लिएको छ । भारतले अनुदानस्वरुप उपलब्ध गराएको खोपले दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाएको उनको भनाइ थियो ।