धरान: एकीकृत सहरी विकास आयोजनाले समेट्न नसकेका धरानको साविक पाँचकन्या र विष्णुपादुका गाविस क्षेत्रमा पनि खानेपानी तथा ढलको व्यवस्थापन गर्न संघीय सरकारबाट आयोजना छनौट भएको छ ।

खानेपानी मन्त्रालयबाट धरानको लागि एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना स्वीकृत भएको हो । यो आयोजनाले धरानको वडा नं ४, ५, ६, २०, १३, १४ र १७ नम्बरको पटनाली क्षेत्रलाई खानेपानी तथा ढल व्यवस्थापन गर्नेछ । यी क्षेत्रमा यसअघिको एडिबिको ऋण तथा अनुदान सहयोगमा सञ्चालित खानेपानी आयोजनाले समेट्न सकेको थिएन । ‘आइयुडिपी प्रोजेक्ट बाहिर भएको क्षेत्रलाई खानेपानी र ढलको व्यवस्थापन गर्ने उद्देश्यले यो आयोजना धरानको लागि छनौट भएको हो, म कार्यवाहक मेयर हुँदा पहल भएको थियो,’धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले भनिन्,‘विभागको आयोजना प्रमुख सहितको टोली स्थलगत अध्ययनको लागि आएको छ ।’

यो आयोजनाले धरानको विकट तथा दुर्गम क्षेत्रलाई खानेपानी व्यवस्था गर्ने भएकोले महत्वपुर्ण आयोजना भएको उपमेयर भण्डारीले बताइन् । धरानमा खानेपानी संस्थान र आइयुडिपीबाहेक अहिले पनि विभिन्न ७८ वटा उपभोक्ता समितिहरुमार्फत नगरबासीहरुले पानी उपभोग गरिरहेका छन् । यो नयाँ आयोजनाले ती सबै उपभोक्ताहरुलाई समेट्ने लक्ष्य राखिएको छ । यो आयोजना खानेपानी तथा ढल प्रशोसन केन्द्रसहितको आयोजना भएकोले महत्वपुर्ण आयोजना हो ।

आयोजनाको सम्भाव्यता अध्ययनको लागि आयोजना प्रमुख चक्रपाणी आचार्य शर्माको नेतृत्वमा खानेपानी तथा ढल व्यवस्थापन विभागका डिई, इञ्जिनियरलगायतको टोली हिजो धरान आएका छन् । यो टोली उपमेयर भण्डारी सुवेदीको नेतृत्वमा अहिले वडा नं ४ को विकट क्षेत्र ढाडे, तेलनपुर क्षेत्रको अध्ययनको लागि प्रस्थान गरेको छ । ‘यो आयोजना आवश्यक छ कि छैन ? सम्भाव्यता हेछौं । कहाँ कहाँ खानेपानी थप गर्ने हो, ढलको व्यवस्थापन गर्ने हो भनेर हेछौं,’आयोजना प्रमुख शर्माले भने,‘यसपाली डिपिआर बन्छ, र अर्को बर्ष टेन्डर हुन्छ ।’ शर्माका अनुसार आयोजनाको लागि छनौट भएका अन्य सहरहरुमा अध्ययनको कार्य सम्पन्न भइसकेको छ । khane