विराटनगर: प्रहरीले प्रदेश १ को विभिन्न स्थानबाट एक जना भारतीय महिलासहित ४ जना लागुऔषध कारोबारी पक्राउ गरेको छ ।

प्रहरीले मोरङको विराटनगर १५ स्थित सिमाक्षेत्रबाट लागुऔषधसहित एक भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया जोगवनी ४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन् । उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले SPASMO-PROXYVON-७२० ट्याब्लेट र PHENERGEN -६० एम्पुलसहित पक्राउ गरेको हो ।

यसैगरी, झापा दमक ८ स्थित सेतुमारी रोडबाट दुई जना लागुऔषध खैरोहिरोईनसहित पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई २ का २१ बर्षीय कनैया गनगाई र रतुवामाई ८ का २० बर्षीय राज कुमार गनगाई रहेका छन् । शुक्रबार विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । को २१ प १०३ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई चेकजाँच गर्दा ३६ ग्राम खैरोहिरोईन फेला परेको प्रहरीले जनाएको छ । साथै, नगद ४ हजार ७ सय रुपैया समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनएको छ ।

यसैगरी, झापाको मेचीनगर ६ स्थित मेचीपुलबाट मोरङ उर्लावारी २ का ३१ बर्षीय सुजन परियार लागुऔषधसहित पक्राउ परेका छन् । उनलाई शुक्रबार लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ।