धरानः धरान उपमहानगरपालिका वडा नं ३ ले ज्येष्ठ नागरिक तथा दिदीबहिनीहरुलाई सम्मान गरेको छ ।
धरान २ र ३ को सिमानामा अवस्थित माछाभौडीमा निर्माणाधिन पार्कमा कार्यक्रम आयोजना गरि वडा नं ३ ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिकहरुलाई नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, वडाअध्यक्ष आशाकुमार श्रेष्ठले सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मान कार्यक्रमलाई सम्बोधन गर्र्दै प्रमुख राईले बर्षमा एक पटक सबै वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुपर्ने बताएका छन् । उनले आमा, दिदीबहिनी तथा ज्येष्ठ नागरिकहरु समाजको अभिन्न अंग रहेको पनि बताए । ‘अब यस्तो कार्यक्रम वार्ड नं. ३ ले मात्र हैन धरानका २० वटै वडाले कार्यन्वयनमा ल्याउनुपर्छ,’प्रमुख राईले भने ।
तीन तहको सरकारमध्ये जनताको सबैभन्दा नजिकको सरकार स्थानिय भएको प्रमुख राईले बताए । उनले स्थानिय सरकारले प्रत्यक्ष रुपमा नागरिकको समस्या, गुनासो, आवश्यकता बुझ्नुपर्नेमा पनि जोडदिए । उनले ज्येष्ठ नागरिकहरुलाई आवश्यक पर्ने मनोरञ्जन, भौतिक पूर्वाधार, सम्मान, घर टोलमा सहज उपस्थिति र सरलीकरण, नागरिक अगुवाहरुलाई सम्मान र प्रोत्साहन गर्ने जिम्मेवारी स्थानिय तहको भएको पनि बताए । नगर प्रमुख राईले नेपाली परम्परा, नेपाली समाज आफूभन्दा अग्रजहरुलाई सम्मान गर्ने, मायाँ प्रेम गर्ने र भातृत्व कायम गर्ने समाजको बनोट रहेको बताए ।
विशेष अतिथि एवं उपप्रमुख भण्डारी सुवेदीले ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा माया गर्न सबैले सिक्नुपर्ने बताइन् । स्थानीय सरकार सञ्चालन ऐनमा ज्येष्ठ नागरिकलाई हेलाहोचो, दुव्र्यबहार भएमा उपमहानगरपालिको न्यायिक समितिमा उजुरी गर्न सकिने व्यवस्था रहेको पनि जानकारी गराइन् । यस्तै, महिला हिंसा भएको अवस्थामा पनि न्यायिक समितिमा उजुरी गर्न सकिने उनले प्रष्ट पारिन् । वडाध्यक्ष श्रेष्ठले प्रत्येक वर्ष वडाका ज्येष्ठ नागरिक तथा वडामा अमूल्य योगदान पुर्याउँदै आएका महिला दिदीबहिनीहरुलाई सम्मान गर्दै आएको जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले सोही वडा निवासी एनटिभी प्रशारण भईरहेको नेपाली स्टार गायन रियालीटी शोका फाइनलिष्ट सन्देश बम्जनलाई भोट दिएर जिताउन आह्वान पनि गरेका थिए । साथै वडा कार्यालयको तर्फबाट नगद ५ हजार सहयोगसमेत गरिएको थियो ।