विराटनगर: प्रहरीले झापाबाट ब्राउनसुगर र गाँजासहित ४ जना लागुऔषध कारोबारी पक्राउ गरेको छ । यता, मोरङको विराटनगरबाट पनि थप एक जना लागुऔषधसहित समातिएका छन् ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यांलयका अनुसार झापाको बिर्तामोड ४ भद्रपुर रोड र बिर्तामोड ६ बुटाबारी क्षेत्रबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्। झापा गाँउपालिका ५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी भद्रपुर रोडबाट पक्राउ परेका हुन् । उनलाई १२ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, बुटाबारीबाट बिर्तामोड ६ का २० बर्षीय सुनिल राई र बिर्तामोड ७ का २३ बर्षय रुपेश गुरुङ पक्राउ परेका छन् । उनीहरुको साथबाट ७ ग्राम ६० मिलिग्राम ब्राउनसुगर पनि वरामद भएको छ । विशेष सुराकको आधारमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरि, जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पनि ठुलो परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ । अर्जुनधारा ९ मगर चोक क्षेत्रबाट १२०० ग्राम गाँजासहित बुद्धशान्ती १ का ५३ बर्षीय लक्ष्मी प्रसाद खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।

यता, मोरङ बिराटनगर १५ स्थित सिमा क्षेत्रबाट भारतिय नागरिकलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया जोगवनी १० का १७ बर्षीय कालु कुमार शर्मा रहेका छन् । उनलाई सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले NITRAVET-७५ ट्याब्लेट,  SPASMO-PROXYVON-४० ट्याब्लेट र  DIALEX-DC-५  बोतल लागुऔषध सहित पक्राउ गरेको जनाएको छ । लागुऔषध सहित पक्राउ परेका पाचै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको जानकारी प्रदेश प्रहरी कार्यालयले दिएको छ ।