धरान: तेह्रथुमको छ थर गाउँपालिका ६ सुदापका २६ बर्षीय सौरभ लिम्बु थुप्रै हण्डर खाएर गत पुष ७ गते मात्र नेपाल फर्किएका थिए । दुबईमा आफु काम गर्ने कम्पनी बन्द भएर तलब पनि पाएका थिएनन् ।

नेपालबाट परिवारले नै टिकटको व्यवस्था गरेपछि सौरभ घर फर्किएका थिए । तर नेपालमा पाइला टेकेकै दिन उनको लागि अर्को बज्रपात भइदियो । काठमाण्डौंमा उनी होटलमा बसेका थिए । रातभरि उनलाई उल्टी भयो । निक्कै सिकिस्त अवस्थामा भोलीपल्ट टिचिङ हस्पिटल पुर्याए । चिकित्सकहरुले सौरभको दुवै मृगौला फेल भएको जानकारी परिवारलाई दियो ।

टिचिङ हस्पिटलले आइसियु भएको हस्पिटलमा राख्नु भनेपछि उनलाई बानेश्वरस्थित भेनस हस्पिटलमा लगेर ६ दिन राखेको सौरभका दाजु सुजन लिम्बुले बताए । एक महिनामै भाईको उपचारमा लाखौं खर्च भइसकेको र सबैबाट सहयोगको आशा गरिएको उनले बताए । सहयोग भएमा भाईलाई मृगौला प्रत्यारोपण गरेर बचाउने योजना रहेको पनि दाजु सुजनले जानकारी दिए ।

kidney1

काठमाण्डौंमा खर्च अत्यधिक हुने भएकोले परिवारले सौरभलाई धरान ल्याएको छ । यहाँ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइहेको छ । सातामा २ पटक डाइलाइसिस हुन्छ । विरामी सौरभ अविवाहित छन् । घरमा वृद्ध आमा बुबा छन् । जेठा दाजुको पहिला नै निधन भइसकेको छ । माइला दाजु सुजन शिक्षक छन् । उनको कमाई परिवारकै लागि ठिक्क हुन्छ । परिवारको १७ रोपनी जति खेती छ । यसको उब्जानीले ३ महिना जति मात्र खान पुग्छ । ‘काठमाण्डौंमा ९, १० दिन बस्दा नै ४ लाख बढी सकियो । यहाँ धरानमा पनि १ लाख जति सकियो । घरको आर्थिक अवस्था कमजोर छ, ऋणबाट नै भाईको उपचार भइरहेको छ,’दाजु सुजन भन्छन् ।

सौरभलाई उनकै बुबाले मृगौला दिने भएका छन् । तर, प्रत्यारोपण गर्न लाग्ने खर्च सुनेर परिवार चिन्तित छ । ‘प्रत्यारोपणमा १५, २० लाख खर्च लाग्छ भन्ने कुरा छ, बुबासँग ब्लड ग्रुप मिलेकोले प्रत्यारोपण गरौं भनेर लागेका छांै,’सुजनले भने,‘सहयोग जुट्यो भने भाईको जीवन बचाउन सकिन्छ भन्ने आशा छ ।’ सौरभलाई मृगौला प्रत्यारोपणमा सहयोग गर्न छ थरमा आर्थिक संकलन समिति बनेको छ । यो समितिले वृहत सहयोग संकलन अभियान शुरु गरेपछि आवश्यक रकम जुट्नेमा परिवार आशावादी छ । ‘देश, विदेशबाट सबैले सहयोग भइदिए भाईको जीवन बच्छ भन्नेमा हामी परिवार आशावादी छौं,’माइला दाजु सुजन भन्छन् । 

सौरभलाई सहयोगको लागि नेपाल बंगलादेश बैंक(सुदाप ६) शुक्रबारे शाखामा खाता नम्बर ०५३००२७४१S मा पठाउन सकिने परिवारले जनाएको छ । साथै, सम्पर्कको लागि विरामीको दाजुको मोवाइल नम्बर ९८४२४४२०६७ वा बचाउ अभियानका अध्यक्ष नेत्र कट्टेललाई ९८५२०५३०२५ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।