विराटनगरः नेकपा प्रचण्ड माधव समुहका प्रदेश १ इन्चार्ज भीम आचार्यले विपक्षी दलहरुको सहयोगमा अविश्वासको प्रस्ताव पारित हुने दाबी गरेका छन् ।

आज बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेता आचार्यले संसदीय दलभित्र पनि आफुहरुको पक्षमा बहुमत रहेको जिकिर गरे । आचार्यका अनुसार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ जना सांसद मात्र ओली समुहमा गएका छन् । तर, थप ३ जना सांसदहरु आफुहरुको पक्षमा आएको पनि उनले बताए । ‘दलभित्र सुविधाजनक बहुमत छ, संसदमा पनि विपक्षी दलहरुको समर्थनमा अविश्वासको प्रस्ताव पारित हुन्छ भन्नेमा शतप्रतिशत विश्वस्त छौं,’आचार्यले भने ।

नेता आचार्यले विपक्षी दलहरुसँग पनि औपचारिक र अनौपचारिक छलफल जारी रहेको पनि जानकारी दिए । संसद वैठक शुरु भएपछि अविश्वासको प्रस्ताव टेवल हुने र पारित हुने पनि उनले बताए । प्रमुख प्रतिपक्षी दल कांग्रेससहित अन्य दलहरुले पनि संसद विघटनलाई असंवैधानिक कदम मानेर आन्दोलनरत भएकोले आफुहरुसँगको एजेण्डा मिलेको पनि आचार्यको भनाई थियो । ‘असंवैधानिक कदम भन्ने दलहरु पक्कै पनि सरकारमा जादैन, हामीसँग एजेण्डा मिलेको छ, त्यसैले संसदमा अविश्वासको प्रस्ताव पारित हुन्छ,’उनले भने ।

कांग्रेसलाई मुख्यमन्त्री दिने बारे सहमति भइनसकेको पनि आचार्यको भनाई थियो । मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप आचार्यको थियो । राजधानीबारे निर्णय गर्ने बेला नै प्रदेशको नामाकरण गर्न प्रस्ताव गर्दा मुख्ममन्त्री राईले नमानेको आचार्यको दाबी थियो । ‘जनजीविकाको चासो र सरोकारलाई पटक्कै ध्यान नदिने यो सरकार असफल भइसकेको छ, नेकपा भित्रकै बहुमत प्रदेश सभा सदस्य र विपक्षी दल यो सरकारलाई निरन्तरता दिनुहुदैन भन्ने पक्षमा छन्,’आचार्यले भने ।