विराटनगरः संसद विघटनविरुद्ध विराटनगरका नागरिक समाज आन्दोलित भएको छ ।

राजनीतिकशास्त्री एवंम प्राध्यापक कृष्ण पोख्रलको संयोजकत्वमा ११० सदस्यीय प्रवुद्ध नागरिक समाज गठन गरिएको छ । उक्त समाजले आज विराटनगरमा सडक पत्रकार सम्मेलन गर्दै संसद विघटन असंवैधानिक भएकोले आन्दोलनमा उत्रनुपरेको जनाएको छ । प्राध्यापक पोख्रेलले प्रधानमन्त्री ओलीले निर्वाचनको कुरा गरेर समय खेर फालिरहेको बताए । उनले निर्वाचन हुन नसक्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले दुई तिहाई ल्याउने कुरा गरिरहे पनि आउन नसक्ने भएकोले चुनाव नै नगराउने पोख्रेलको दाबी थियो । पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेलले प्रधानमन्त्रीको प्रतिगमनकारी कदम नसच्चिएसम्म आन्दोलन जारी राख्नुपर्ने बताए । कानून व्यवसायी डाक्टर मेदिनी सेडाइले संसदीय पद्दती र व्यवस्था विरुद्ध संसद विघटन भएको बताए । पेशागत हित चाहने सबै सडकमा उत्रनुपरेको उनले बताए । अर्थविज्ञ डाक्टर पीके झाले लोकतन्त्र र विधिको शासन भन्दा प्रधानमन्त्री ठुलो नहुने भन्दै कोही पनि चुप लागेर बस्न नहुने बताए ।