धरान: मोरङको उर्लाबारीबाट ठुलो परिमाणमा हतियारमा प्रयोग हुने गोली वरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका १ लक्ष्मीझारका दलबहादुर लिम्बुको घरको जमिन मुनिबाट १८५ राउण्ड गोली वरामद भएको हो । हिजो बुधबार मध्याह्न घर भत्काएर खाल्डो खन्ने क्रममा प्लाष्टिकमा पोका पारेर माटो मुनि गाडेको अवस्थामा गोली वरामद भएको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईले जानकारी दिए । वरामद भएको गोली ७.६२ एमएमको रहेको छ ।
प्रहरीका अनुसार खन्ने क्रममा कामदार भक्तबहादुर सुवेदीले प्लाष्टिकको पोको भेटेका थिए । पोको खोलेर हेर्दा गोली देखेपछि प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली खटिएको थियो । यो गोली एसएलआर जस्तो राइफलमा प्रयोग हुने प्रहरीको भनाई छ । खिया लागेको अवस्थामा भेटिएकोले यो द्धन्दकालमा लुकाएको प्रहरीको अनुमान छ ।