धरान: दुवै पक्षको बहस सकिएको संसद विघटन सम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले आज पेशी तोकेको छ ।

गत पुष ५ गते प्रधानमन्त्रीको सिफरिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा दर्जन बढी रिट दायर भएको थियो । प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर राणाले ती रिटहरुलाई संवैधानिक इजलाशमा पेश गर्न आदेश दिएका थिए भने इजलाशमा बहस भएको थियो । साथै, राय दिनको लागि एमिकस क्युरी पनि गठन गरिएको थियो ।

सर्वाधिक चासो दिइएको यो मुद्दाको दुवै तर्फको बहस सकिएको भने अदालतको सहयोगी एमिकस क्युरीले राय पनि दिइसकेको छ । त्यसैले आज सर्वोच्चले संसद विघटन सम्बन्धी यो मुद्दालाई हेर्दा हेर्दैमा पेशी तोकेको छ । राजनीतिक अन्यौलतालाई चिर्ने कडीकोरुपमा आउने फैसलाको सबैलाई प्रतिक्षा छ । अबको केही दिनभित्रै सर्वोच्चले फैसला सुनाउने तयारी गरेको बताइएको छ ।

संसद विघटन भएपछि सत्तारुढ दल नेकपा विभाजन भएको छ । यद्यपी, कानुनीरुपमा विभाजन हुन भने बाँकी छ । संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेकै बेला नेकपाकै प्रचण्ड माधव समुह संसद विघटनविरुद्ध सडक आन्दोलनमा छ भने प्रधानमन्त्री केपी शर्मा ओली पनि आमसभाहरु गर्दै चुनाव भएरै छोड्ने घोषणा गरिरहेका छन् । सरकारले बैशाख १७ र २७ गते दुई चरणमा चुनावको घोषणा गरिसकेको छ।