धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले रित नपुगेको अविश्वासको प्रस्ताव अघि बढाएर गलत अभ्यास र गलत परम्पराको थालनी गरेको बताएका छन् ।

आज बिहान हिमालय टेलिभिजनसँगको कुराकानीको क्रममा मुख्यमन्त्री राईले संसदीय दलको विधान विपरीत, रित नपुगेको प्रस्ताव टेबुल गरेर सभामुख प्रदिप भण्डारीले गलत अभ्यास थालनी गरेको बताएका हुन् । मुख्यमन्त्री राईले संसदीय व्यवस्था र त्यसको मुल्य, मान्यता विपरीत हुने ढंगबाट प्रस्ताव अगाडि नबढाउन आग्रह गरेपनि सभामुख भण्डारीले जर्बजस्त अघि बढाएको आरोप पनि लगाए । उनले भने,‘हामीले अविश्वासको प्रस्तावको सन्दर्भमा वैधानिक प्रश्न उठाएका छौं, संसदीय अभ्यासमा, दलीय व्यवस्था र प्रणालीमा दलको विधान प्रमुख हुन्छ । विधान विपरीत रित नपुगेको प्रस्ताव अगाडि नबढाउन आग्रह गरेका थियौं । तर उहाँले संसदीय मुल्य र मान्यता विपरीत जानुभयो ।’

सभामुख भण्डारी दबाबमा परेर थेग्न नसकेको भन्दै मुख्यमन्त्री राईले संविधन र प्रदेश सभाको नियमावलीले दलको विधान थाह पाउदैन, बुझ्नदैन भन्ने कतर्क गरेको पनि बताए । उनले सत्ता पक्षले उठाएको प्रश्नहरुको निरुपण नभै प्रक्रियामा सामेल नहुने पनि बताए । ‘हामीले उठान गरेर यी गम्भीर प्रश्नहरुको निरुपण नगरिकन, एउटा समझदारी नगरिकन सभामुख जर्बजस्त अगाडि बढ्नु भएको अवस्था छ, हामी त्यो प्रक्रियामा सामेल छैनौ,’उनले भने ।

पहिलो पटक संघीयता कार्यान्वयन भइरहेकोले गलत खालको परम्परा,अभ्यासहरु शुरुवात नहोस् भन्नेमा आफु लागिपरेको भन्दै मुख्यमन्त्री राईले जर्बजस्तरुपमा अविश्वासको प्रस्ताव अघि बढाइएको हुनाले अब स्वभाविक एउटा प्रक्रियाबाट टुंगिने पनि बतए । तर, विधान विपरीत ढंगबाट प्रदेश सभामा पेश भएको एजेण्डा भएकोले सत्ता पक्षले मत प्रकट नगर्ने पनि मुख्यमन्त्री राईको भनाई थियो । ‘विधान विपरीत ढंगबाटपेश भएको एजेण्डामा हामी मत प्रकट गर्न सक्दैनौं, हाम्रो मत यथावत रहन्छ, जे अडान हो, त्यो राख्छौं । तर त्यो प्रक्रियामा उभिएर यता वा उता सामेल हुदैनौं । नो भोटको पोजिसनमा बस्छौं,’उनले भने ।

नेपाली कांग्रेस निर्णायक शक्ति भएको भन्दै मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावको विपक्षमा वा नो भोटको अवस्थामा बसेमा प्रस्तव फेल हुने र कांग्रेसलगयत अन्य दलहरुसँग छलफल गरेर नयाँ समिकरण बन्ने पनि बताए । ‘कांग्रेसले अविश्वासको प्रस्तावको पक्षमा निर्णय गरे रित नपुगेको भएपनि सभामुखले प्रक्रियामा लगेको हुनलो पास हुन्छ, र मैले नैतिकरुपमा छोड्नुपर्ने हुन्छ,’मुख्यमन्त्री राईले भने,‘कांग्रेसले अविश्वासको प्रस्तावको विपक्षमा उभिने निर्णय गर्न पनि सक्छ । कांग्रेस नो भोटको अवस्थामा पनि बस्न सक्छ, त्यसो हुँदा प्रस्ताव फेल हुन्छ, र हामी अघि बढ्छौं । त्यसपछि कांग्रेस लगायत दलहरुसँग छलफल गछौं, र नयाँ समिकरण बन्छ ।’