विराटनगर: मोरङको उर्लाबारी ५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद शंकास्पदरुपमा मुत्युको घटनामा ६ जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता भएको छ।

घटना भएको २ महिनापछि मृतक परिवार तथा स्थानीयले प्रहरी मिलेमतोमा अनुसन्धानमा लापरवाही गरेको भन्दै आन्दोलन चर्काएपछि प्रहरीले ६ जनाविरुद्ध हिजो बुधबार मुद्दा दर्ता गरेको हो । ती मध्ये २ जना पक्राउ परिसकेका छन् भने अन्य ४ जना फरार छन् । प्रहरीका अनुसार उर्लाबारी–६ का मेहरमाान दर्जी र कुमार राई पक्राउ परेका छन् । राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल र रमेश गिरी भने फरार छन् । प्रहरीले उनीहरुलाई विगतमा पनि अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो । तर, सरकारी वकिलको कार्यालयले मृत्युको कारण प्रष्ट नभएको भन्दै जमानीमा छोड्न निर्देशन दिएपछि छुटेका थिए । बास्तोलाको गत पुस ५ गते साथीको घरमा सुतेकै ठाउँमा शंकास्पद मृत्यु भएको थियो।

मृतकका बहिनीले दाजुको हत्यामा संलग्नहरुलाई प्रहरीले नै जोगाएको साथै मिसिलमा फोटो परिवर्तन गरेको भन्दै फेसबुकमार्फत लाइभ गरेपछि यो घटनाले विश्वभरका नेपालीहरुको ध्यान खिचेको थियो । त्यसपछि जिल्ला प्रहरीले उक्त घटनाको छानबिन गर्न डिएसपीको कमाण्डमा टोली उर्लाबारी पठाएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार नै पत्रकार सम्मेलन गरेर बास्तोला मृत्यु प्रकरणमा प्रहरीबाट भएको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले डिएसपीको कमाण्डमा छानबिन टोली गठन गरेर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार पुष ५ गते घटनास्थलमा लाशको जाँच मुचुल्का र मानिस मरेको भवितव्य ज्यानको जाहेरी दरखास्तमा गरिएको थियो भने शव पोष्टमार्टमको लागि वीपी प्रतिष्ठान पठाइएको थियो । मृतक पक्षले पोष्टमार्टम रिपोर्ट आएपछि बास्तोलासँग कोठामा सँगै बस्ने मेहरमान, राजेश, दिपेश र सुदिपविरुद्ध किटानी जाहेरी दिने भनेपछि उनीहरुलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरि अनुसन्धान गरिएको थियो ।

साथै, पुष १९ गते भिषेरा परिक्षणको लागि पुर्व क्षेत्रीय विधि विज्ञान प्रयोगशाला धरान पठाइएको पनि एसपी खड्काले जानकारी दिए । सोही दिन पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण भिषेरा रिपोर्ट परिक्षण पछि मात्र यकिन हुनसक्ने व्यहोरा आएको थियो । पुष २२ गते मेहरमान,राजेश, दिपेश, सुदिप, घरधनी रमेश र हेटल संचालक कुमारसमेतको नाममा मादक पादर्थ रक्सीमा बिषालु पदार्थ मिसाई रमेशको घरको कोठामा लगेर हत्या गरेको भन्ने कर्तव्य ज्यान सम्बन्धी कसुरको जाहेरी आएको पनि एसपी खड्काले जानकारी दिए ।

 पुष २६ गते पक्राउ परेकाहरुको वयान गराएको र २७ गते रमेश र कुमारलाई पनि पक्राउ गरिएको थियो । पुष २९ गते प्रहरीले अनुसन्धान प्रतिवेदनसहित मिसिल कागजातहरु सरकारी वकिल कार्यालयमा पेश गरेपनि मृत्युको कारण यकिन हुन नसकेको भन्ने निर्देशन सो कार्यालयबाट पाएको एसपी खड्काले बताए । यसैगरि, माघ २ गते पक्राउ परेकाहरुलाई हाजिरी जमानीमा छोडेर थप अनुसन्धान गर्ने निर्देशनसहित मिसिल फिर्ता भएको थियो । त्यसपछि पक्राउ परेकाहरु जमानीमा छोडिएका थिए । वीपी प्रतिष्ठानबाट माघ ५ गते भिषेरा परिक्षणको रिपोर्ट आएको थियो भने प्रहरीले ७ गते मृत्युको कारण खुलाई पठाइदिन पत्राचार गरेको थियो । प्रतिष्ठानले माघ १२ गते मुत्युको करण भ्वाइलेट एपेक्सिया रहेको भन्ने पठाएको थियो । त्यसपछि, प्रहरीले पुनः जमानीमा छोडिएकाहरुलाई वयान लिन शुरु गरेको थियो ।