धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो बिषयमा प्रकाशित भएको समाचारको बारेमा पत्रकार सम्मेलन गर्दै औपचारिक प्रतिक्रिया दिएका छन् ।

बिहिबार साँझ उपमहानगरपालिकाको बैठक कक्षमा पत्रकार सम्मेलन गर्दै मेयर राईले समाचार प्रकाशन भएजस्तो आफुले मनपरी नगरेको प्रष्टीकरण दिए । बिहिबार धरानबाट प्रकाशित एक दैनिक पत्रिकामा कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार सडक खण्डमा बनाउनुपर्ने शौचालय धरान २० स्थित ओशो आश्रम क्षेत्रको खानेपानीको स्रोतमाथि बनाउन लगाएको समाचार प्रकाशित भएको थियो । त्यसअघि पनि मेयर राईले खानेपानी व्यवस्थापन बोर्डमा आफुखुशी कार्यकर्ता भर्ति गरेको समाचार प्रकाशित भएको थियो ।

मेयर राईले कोशी राजमार्गको धरान १३, शिवधारा क्षेत्रमा रिफ्रेसमेन्ट अवधारणामा व्यवस्थित शौचालय बनाउने योजना भएपनि जग्गा उपलब्ध हुन नसकेपछि बजेट फ्रिज हुन नदिन स्थानीयसँगको सहमतिमा नै धरान २० स्थित ओशो आश्रम क्षेत्रमा उक्त योजना लगिएको बताए । शिवधारास्थित सडक डिभिजनको जग्गा माग गरिए पनि प्राप्त नभएको, त्यहीको पेट्रोल पम्पको जग्गामा पनि कुरा गरेको तर नदिएको मेयर राईले बताए । यस्तै, ट्रक संघको जग्गामा पनि बनाउन पहल गरिए पनि जग्गा पर्याप्त नभएपछि बजेट फ्रिज हुन नदिनलाई वीपी स्मृति पार्क, ओशो आश्रम क्षेत्रमा योजना लगिएको मेयर राईले बताए ।

मेयर राईले ओशो आश्रमको अव्यवस्थित शौचालयलाई व्यवस्थित गर्ने गरि सहमति गरेर निर्माण कार्य शुरु गरेको बताए । आश्रमले प्रयोग गर्ने शौचालय अव्यवस्थित रहेको र त्यसले खानेपानी स्रोतलाई असर गर्ने बताए । ‘अहिलेको शौचालय व्यवस्थित हुने भएकोले त्यसले खानेपानी स्रोतलाई असर गर्दैन,’उनले भने ।

ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास बोर्डबाट धरानको लागि २ वटा शौचालयको योजना स्वीकृत भएको थियो । त्यसमध्ये एउटा योजना शिवधारा क्षेत्रमा बनाउने भन्ने थियो भने अर्को पब्लिक हाई स्कुलको मैदान क्षेत्रमा बनाउने योजना छ । शिवधारा क्षेत्रमा जग्गा प्राप्त हुन नसकेपछि पर्यटकीय गन्तव्य बनेको वीपी स्मृति पार्क क्षेत्रमा व्यवस्थितरुपमा बनाउन योजना लगिएको मेयर राईले बताए । ‘निश्चित समयको लागि बजेट आएको र फिर्ता हुने सम्भावना भएकोले नै योजनालाई पार्क क्षेत्रमा लगेको हो,’मेयर राईले भने । ईञ्जिनियर सुरज श्रेष्ठका अनुसार पुरुषतर्फ २ वटा र महिलातर्फ ३ वटा शौचालयको डिजाइन छ । साथै, एउटा अपांगमैत्री र एउटा सर्भिस रुमको डिजाइन छ । एउटा शौचालय बराबर २५ लाखको योजना रहेको उनले बताए ।

भिडियो :