इटहरीः सामाजिक संजाल टिकटकमार्फत चिनजान गरेर बलात्कार गरेको आरोपमा इटहरीमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्कीका कास्कीकोट गाउँपालिका ४ का ३९ वर्षीय राजिव गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । इटहरी प्रहरी प्रमुख डिएसपी अर्जुन केसीका अनुसार टिकटक म्यासेन्जरबाट सम्बन्ध बढाएका गुरुङले पीडित युवतीलाई विवाह गर्ने प्रलोभन देखाएका थिए । उनले गत माघ २५ गते देखि २७ गतेसम्म इटहरीकै एक होटलमा राखेको र २७ गते विहान युवती नुहाउन बाथरुम पसेका बेला युवतीको साथमा रहेको नगद, सुन र एटीएम लुटेर भागेका थिए ।

प्रहरीका अनुसार युवतीको साथमा रहेको सुनको ब्रासलेट, झुम्का, सिक्रि, एटीएम र नगद २७ हजार ५ सय र एक थान मोवाइल युवकले चोरेर भागेको युवतीको दाबी छ । पक्राउ युवक यस अघि पनि विभिन्न युवतीलाई प्रलोभनमा पारी लुटपाट गर्ने गरेको देखिएको प्रहरको भनाई छ ।
गुरुङले पुनः यस्तै प्रलोभनमा पारी झापाकी एक महिलालाई लुट्ने योजना बनाएको अवस्थामै इटहरी १३ बाट पक्राउ गरेको प्रहरीको दाबी छ । उनलाई जबरजस्ती करणी उद्योगमा मुद्धा चलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।