मोरङः मोरङको उत्तरी भेगस्थित केराबारी गाउँपालिका ७ नर्कटेमा आज बिहानै एक बिहे घरमा लुटपाट भएको छ ।

बेहुलीको घरमा एक समुहले आक्रमण गरि लुटपाट मच्चाएको हो । उक्त घटनामा ४ जना घाइते भएका छन् । जसमा बेहुलीको बुबा पनि छन् । प्रहरीका अनुसार भगीमान लिम्बूको घरमा आक्रमण भएको हो । उक्त आक्रमण बिहे कार्यक्रम सकिएर सबै सुतिसकेको अवस्थामा बिहानै करिब ३ बजेतिर भएको हो । आक्रमणबाट बेहुलीका बुवा, दिदी सविना लिम्बू (राई), कान्छा मामा भगत याक्खा र बेहुलातर्फको जन्ती रमेश राई घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

एक दर्जन बढीको संख्यामा आएको समुहले सुनचाँदीको गरगहना र पैसा लुटेर लगेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार भगीमानकी २३ बर्षीय छोरी सम्झना र नुवाकोटका सुदीप राईबीच विवाह भएको थियो । आक्रमणकारीहरुले घरेलु हतियारले आक्रमण गरेको र अन्यले भागेर ज्यान जोगएका थिए । घाइतेमध्ये भागीमान र भगतको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

आक्रमणकारी युवाहरु मादक पदार्थ सेवन गरेका शुक्रबार राती नै आएका थिए । उनीहरुले त्यति बेलादेखि नै साउण्ड सिस्टमको कुरा झिकेर विवाद गर्न थालेको खुलेको छ । प्रहरी आएपछि उक्त समुह फरार भएको थियो । तर, बिहान करिब ३ बजेतिर आएर उनीहरुले लुटपाट मच्चाएको स्थानीयबासीको भनाई छ । प्रहरीका अनुसार आक्रमणबारीहरुको पहिचान भइसकेको र खोजी कार्य तीब्र पारिएको एसपी खड्काले जानकारी दिए ।