विराटनगर: मोरङको बिराटनगर महानगरपालिकामा एक युवालाई बन्धक बनाएर परिवारसँग फिरौती माग गर्ने ३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर १८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाएर परिवारसँग १० लाख फिरौती रकम माग गर्नेहरु पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर २० का २० बर्षीय रोहित मण्डल, बिराटनगर १६ का अजय यादव र बिराटनगर ६ की २८ बर्षीया सन्ध्या शर्मा रहेका छन् ।

उनीहरुले शनिवार दिउँसोदेखि कामतलाई बन्धक बनाएका थिए । साथै, फिरौती बापत परिवारसंग १० लाख रकम माग गरेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सूचना पाएको २ घण्टा भित्रै कामतलाई बिराटनगर ६ बाट सकुशल उद्दार गरेको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।