धरान: १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भोली मंगलबार धरानमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

महिला सञ्जाल धरानको आयोजनामा भानुचोकमा वृहत रक्तदान कार्यक्रम हुन लागेको हो । ‘नेतृत्वमा नारीः कोभिडको संसारमा समान भविष्यको प्राप्ति’ भन्ने नारासहित यसपाली अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन लागेको छ । एक हजार रगत संकलन गर्ने लक्ष्य राखिएको अध्यक्ष चेतना श्रेङले बताइन् । उनका अनुसार श्रमिक महिलाहरुको स्वास्थ्य सेवालाई ध्यान दिदै कार्यक्रम राखिएको हो ।

बिहान ७ बजे भानुचोकस्थित लोकतान्त्रिक चौतारी रक्तदान कार्यक्रम शुरु हुनेछ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्भवती, बालबालिका, वृद्धवृद्धा, घाइते, शल्यक्रियाका विरामीहरुलाई दैनिकरुपमा रगत खाँचो पर्ने भएकोले सहजताको लागि रक्तदान कार्यक्रम राखिएको सचिव लहरुमाया जिमीले जानकारी दिइन् । उनले मंगलबार हुने कार्यक्रममा सहभागिता जनाउन सबैलाई आह्वानसमेत गरेकी छिन् ।

धरानमा रक्तदाताको शहरकोरुपमा चिनाउन योगदान पुर्याउने ३ संस्थालाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको रक्तदान कार्यक्रमकी संयोजक निर्मला शाक्यले बताइन् । महिला सञ्जाल २०६६ सालमा धरानका महिला नेतृत्वका संघसस्थाहरुको साझा संस्थाकोरुपमा स्थपना भएको हो । सञ्जालले महिला सशक्तीकरण, महिला हकअधिकार तथा न्याय दिलाउन पैरवी गर्ने गरेको छ ।