झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको लागि नभै नेपाली जनताको लागि कम्फरटेवल सरकार चाहिएको बताएका छन् ।

केही दिनअघि एक टेलिभिजनलाई अन्तवार्ता दिने क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, जसपासहित आफ्नो समुहको नेतृत्वको सरकार बन्दा भारतलाई पनि कम्फरटेवल हुने धारणा राखेका थिए । उनको यो अभिव्यक्ति पछि भारत परस्त अभिव्यक्ति दिएको भन्दै प्रचण्डको आलोचना भइरहेको छ । आज झापाको विर्तामोडमा क्यान्सर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नाम नलिई कनै प्रचण्डको अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन् ।

ओलीले राष्ट्रिय हित, भुगोल, स्वाधिनता, स्वाभिमान, राष्ट्रिय सम्प्रभुता र हितहरुलाई सुरक्षित राखेर छिमेकीहरुसँग मैत्रीपुर्ण सम्बन्ध बनाउनुपर्ने बताए । उनले नेपाली जनतालाई कम्फरटेवल हुने सरकार चाहिएको पनि बताए । 'हाम्रो राष्ट्रिय हित, हाम्रो भुगोल, हाम्रो नक्सा, हाम्रो जमिन, हाम्रो स्वाधिनता, हाम्रो स्वभाभिमान, हाम्रो राष्ट्रिय सम्प्रभुता र हितहरुलाई सुरक्षित राखेर छिमेकीहरुसँग मैत्रीपुर्ण सम्बन्ध बनाउने हो,'प्रधानमन्त्री ओलीले भने,'नेपाली जनताले दुःख पाए पाओस्, जे सुकै होस्, अरुका लागि कम्फरटेवल सरकार होइन । नेपाली जनतालाई कम्फरटेवल हुने सरकार चाहियो । नेपाली जनतालाई सजलो हुने सरकार चाहियो, नेपाली जनताको लागि काम गर्ने सरकार चाहियो ।'

ओलीले नेपाली जनताको लागि आवास दिने, जनतालाई बाटो दिने, जनतालाई खानेपानी दिने सरकार चाहिएको बताए । उनले भने, 'नेपाली जनतालाई विद्यालय दिने सरकार चाहियो, विद्यार्थीलाई पाठ्य पुस्तक दिने सरकार चाहियो, गरिब बालबालिका छन् भने पढाई दिने सरकार चाहियो ।' प्रधानमन्त्री ओलीले सबैसँग मित्रता कायम राख्दै, सहयोग र सहकार्य पनि गर्दै अघि बढ्ने बताए । 'हामी सबैसँग मित्रता राख्छौं, सहयोग लिन्छौं र सहकार्य पनि गछौं, तर हाम्रो गन्तव्य समृद्ध नेपाल हो, शुखी नेपाली हो । अरुलाई खुशी पार्ने कुरा हाम्रो होइन,'ओलीले भने।

प्रधानमन्त्री ओलीले जनताको समृद्धि र खुशीको लागि नै विगतमा सिद्धिएका उद्योगहरुलाई फेरि जगाउन पहल भइरहेको पनि बताए । बाँझो रहेका खेतबारीहरु हराभरा बनाउने र कृषिलाई आधुनिकीकरण गर्दै अघि बढेको पनि उनले बताए । प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रलाई सहयोग गर्ने आश्वासन दिदै उद्योगहरु खोलेर रोजगारीको अवसर सृर्जना गर्न पनि आह्वान गरे ।

उनले भने, 'उद्योगहरु खोल्नुस्, सञ्चालन गर्नुस्, रोजगारीको अवसर सृर्जना गर्नुस्, उत्पादनमुखी काम गर्नुस् सरकारले सहयोग गर्छ, बैंकले पनि लोन दिन्छ । काुननले कही बाधा पर्यो भने कानुन पनि संशोधन गछौं । नेपाली जनताको लागि कम्फरटेवल हुनुपर्यो ।' आफुले जनताको खुशी र समृद्धिको लागि ठुला सपनाहरु देखेको र ती सपनालाई साकार पारेरै छोड्ने पनि बताए । देशबाट भ्रष्टचार अन्त्य गर्ने उद्घोष गर्दै ओलीले यसबीचमा भु माफियाले कब्जा गरेका सयौं बिघा जमिन फिर्ता ल्याएको पनि बताए ।

'कसैले हटाउन सक्छ भने हटाओस् तर चुनावबाट दुई तिहाईसाथ आउछुँ'

ओलीले आफुलाई प्रधानमन्त्रीबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती पनि दिए । तर, आफुलाई हटाउन सजिलो नभएको पनि उनले बताए । कसैले हटाउन सके आफु खुशीसाथ हट्ने तर चुनावबाट दुई तिहाईको साथ सिंहदरबार फर्कने पनि ओलीले दाबी गरे ।

'कसैले हटाउन सक्छ भने हटाओस्, तर सजिलो छैन । हटाउन सक्छ भने हटाओस, खुशीसाथ हट्छु तर डेढ, दुई बर्ष पछि त चुनाव त आउछ । दुई तिहाईको साथ फेरि सिंहदरबारमा फर्कन्छु,'उनले भने,'किनभने देश बनाउनुपर्छ, बिग्र्रान दिनुहुदैन, रोकिन दिनुहुदैन, अलमलमा पर्न दिनुहुदैन । जुन बाटो बनाएका छौं, त्यहाँ तगारा लगाउन दिनुहुदैन । तगाराहरु पन्छाएर अघि बढ्ने चेतना राख्नुपर्छ ।'