धरान: तामाङ बौद्धिक समुह धरानको प्रथम अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार धरानको होटल सन्ध्या इनमा आयोजिक कार्यक्रमबाट कवि सुदिप पाख्रिनको संयोजकत्वमा ११ सदस्यीय कार्यदलसहित ३२ जनाको तदर्थ समिति गठन भएको छ । कार्यदलको सदस्यहरुमा अनुप योञ्जन तामाङ, इन्दु नेपाल योञ्जन, सनम तामाङ, दिपक घिसिङ, निला तामाङ, रिता मोक्तान, बद्री तामाङ, विष्णु मोक्तान, कृष्ण ब्लोन र राजेन्द्र स्याङ्बो रहेका छन् । कार्यक्रममा शिक्षक, धर्मगुरु, साहित्यकार, स्वास्थ्यकर्मी, नेपाल तामाङ घेदुङको जिल्ला र केन्द्रीय समितिका पदाधिकारीहरु सहभागी थिए । उक्त कार्यक्रमको संयोजक पनि सुदिप पाख्रिन थिए भने कार्यक्रमको परिकल्पना इन्दु योञ्जनले गरेका थिए । साथै, अन्र्तक्रियाको सल्लाहकार अनुप योञ्जन थिए ।

तामाङ समुदायको सामाजिक चेतना, राजनीतिक क्षेत्रमा सहभागिता, स्वास्थ्य क्षेत्रमा पहुँच पर्याउने, आर्थिक विकासमा अघि बढाउने लगायत बिषयमा छलफल भएको कार्यक्रम सञ्चालक सनम तामाङले बताए । तदर्थ समितिले अब चाडै भेला बोलाएर औपचारिकरुपमा कमिटी गठन गरेर वैधानिकता दिने पनि उनले जानकारी दिए । ‘विभिन्न क्षेत्रमा रहेका तामाङ समुदायका व्यक्तिहरुलाई साथ, सहयोग एवं उजागर गर्ने, बौद्धिक क्षमताको विकास गर्नेलगायत कार्यहरु गर्नेछौं,’सनम तामाङले भने ।

तामाङ समुदायभित्र सहकार्य, सौहार्दता, संर्वद्धन, सवलीकरण र सहजीकरणलगायत महत्वपुर्ण भुमिका निर्वाह गर्न समुह गठन गरिएको आयोजकको भनाई छ । यस्तै, सामाजिक, राजनीतिक, धार्मिक, साँस्कृति, आर्थिक, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा चौतर्फी उत्थान तथा विकास गर्न भुमिका निर्वाह गर्ने, समुदायभित्रका कला, साहित्य, सँस्कृति,ख ेलकुद तथा अन्य विभिन्न क्षेत्रमा रहेका प्रतिभाहरुको पहिचान, प्रर्वद्धन संरक्षण एवं सम्मान गर्ने, समुदायको हितको लागि हातेमालो गर्दै अस्तित्व बोध गराउनेलगायत उद्देश्य रहेको उनको भनाई छ ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष सुरज लामाले अब हुने घेदुङको केन्द्रीय अधिवेशनमा विधान संशोधन गरि समन्वय, सहकार्य गर्ने संस्थाकोरुपमा बौद्धिक समुहलाई अघि बढाउन पहल गर्ने बताएका थिए । तामाङ भाषा प्रशिक्षक मंगल तामाङले आफ्नो भाषा र सँस्कृति संरक्षणमा जोडदिनुपर्ने बताए । अग्रज समाजसेवी कृष्ण ब्लोनले समुहलाई गाइडलाइनको आवश्यकता भएको धारणा राखेका थिए ।