धरान: धरान १७ शान्ति टोलस्थित खहरे खोलामा बनेको नवनिर्मित पुलको उद्घाटन भएको छ ।

मेयर तिलक राईले हिजो (शनिबार) नवनिर्मित पुलको उद्घाटन गरेका हुन् । मेयर राईले भौतिक निर्माणले यो ठाउँको स्वरुप नै परिवर्तन भएको बताए । ‘खोल्साले अलिक अप्ठ्यारो देखिने तर, अहिले यो भौतिक निर्माणले शान्ति टोलको स्वरुप परिवर्तन भएको महशुस गरेको छँु,’मेयर राईले भने ।
जनप्रतिनिधिहरुले दिएको पैसाको सदुपयोग भएर गुणात्मकरुपमा विकास भएमा त्यसले जनप्रतिनिधिहरुलाई अत्यन्तै सुखी मिल्ने उनले बताए । मेयर राईले उपभोक्ता समितिले उत्साहजनक काम गरेको भन्दै धन्यवाद पनि दिए ।

मेयर राईले धरान १७ भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न प्राथमिकता दिने पनि बताए । भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न उपमहानगरको कार्यपालिका बैठकले नगर प्रमुखको संयोजकत्वमा समिति बनेको जानकारी दिदै उनले अब वडाध्यक्षको नेतृत्वमा वडामा पनि सहजिकरण समिति बन्ने बताए ।

शान्ति टोल पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष सुर्य तामाङले उक्त पुल नगरपालिकाको ४ लाख ५० हजार र उपभोक्ता समितिको १ लाख ८८ हजार ६८ रुपैयाँ बजेटमा निर्माण भएको जानकारी दिए । ‘यहाँ पुल नहुँदा मानिसलाई आवतजावत गर्न समस्या थियो, खहरे खोलाले बगाएर अहिलेसम्म ३ जनाको मृत्यु भईसकेकोछ,’उनले भने,‘पुल निर्माण भएपछि शान्ति टोललाई मात्र होइन, लोसे, नमस्ते चौक र उदयटोलका बासिन्दालाई पनि आवतजावत गर्न सहज भयो ।’ वडाध्यक्ष मनोज भट्टराईले शान्तिटोल आफैमा क्रियाशिल टोल रहेको बताए । हरेक टोलहरुले शान्ति टोलबाट सिक्न जरुरी रहेको बताउँदै उनले एकतावद्ध भएर काम गर्न आग्रह गरे ।