धरान: धरानमा मृत्यु संस्कार (दाहसंस्कार)स्थल व्यवस्थापन गर्नेबारे छलफल भएको छ ।

धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबार धरान ८ स्थित सभागृह हलमा दाह सँस्कारस्थल व्यवस्थापनको समस्या र समाधानबारे छलफल भएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका धरानका मेयर तिलक राईले शवलाई समाधिस्थ गर्ने जातिहरु र दाहसंस्कार गर्ने जातिहरुले निश्चित क्षेत्रलाई पहिचान गरेर गुरुयोजनाकै रुपमा कार्ययोजना बनाउन आग्रह गरे । उनले कार्ययोजना बनाएर आएमा उपमहानगरपालिकासँगै प्रदेश, केन्द्र सरकार र अन्य दाताहरुबाट पनि सो क्षेत्र र स्थलहरुको विकासको लागि बजेट व्यवस्थापन गर्न पहल गर्ने बताए ।

मेयर राईले अति विपन्नहरुका लागि हाल उपमहानगरपालिकाले निःशुल्क शववाहन उपलब्ध गराइरहेको जानकारी पनि दिए । साथै, मलामी खर्च ३ हजार रुपैयाँसम्म सहयोग गर्न सक्ने पनि उनले बताए । धरानको दाहसंस्कार स्थलहरुलाई व्यवस्थित गर्न तत्काल ४, ५ लाख रुपैयासम्मको प्रभावकारी योजना आए तुरुन्तै कार्यन्वयन गर्ने उनले प्रतिवद्धता पनि जनाएका थिए ।

कार्यक्रमका संयोजक एवं प्राज्ञ शुभचन्द्र राईले धरानमा रहेका विभिन्न १८ वटा जातीय संस्थाहरुबाट प्राप्त प्रतिवेदनको आधारमा तयार गरिएको कार्य योजना प्रस्तुत गरेका थिए । धरान प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फेको अध्यक्षतामा आयोजित कार्यक्रम प्राज्ञ गोपाल देवानले कार्यक्रम सञ्चालन गरेका थिए ।