धरान: मोरङको उर्लाबारीका युवा प्रविण बास्तोलाको मृत्यु प्रकरणमा छानबिन गर्न गठित समितिको प्रतिवदेन जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ ।

डिएसपी मानबहादुर राई संयोजक रहेको ३ सदस्यीय छानबिन टोलीले अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबाट कमी कमजोरी गरेको देखिएको भन्दै विभागीय कारबाही अनुसार सचेत गराएर जवाफदेही बनाउनुपर्ने निष्कर्ष दिएको छ । ‘ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुले अनुसन्धानमा मिसिलमा संलग्न कागजातहरु नियमित प्रमाणीकरण गर्ने तथा अनुसन्धान सम्बन्धी भौतिक सवुतको परीक्षण गर्ने र सो प्रतिवेदन अविलम्ब प्राप्त गर्ने, सम्बन्धित निकाय अथवा पदाधिकारी साथै जाहेरवाला पक्षहरुसँग प्रभावकारी एवं नियमित समन्वय र सम्पर्क गर्ने कार्यमा कमी कमजोरी गरेको देखिएको हुँदा विभागीय कारबाही अनुसार सचेत गराई जवाफदेही बनाउनुपर्ने देखिन्छ,’छानबिन समितिको निष्कर्षमा भनिएको छ ।

मृतकको परिवारले प्रहरीले वद्नियतपुर्वक अनुसन्धान गरेको र फोटो अर्कै व्यक्तिको राखेको आरोपबारे पनि छानबिन समितिले बोलेको छ । मिसिलको अध्ययन गर्दा नक्कली भनिएको फोटो भदौ ३ गते करेन्ट लागेर घाइते भएका नविनराज घिमिरे गहतराजको गोदावरी अस्पतालमा मृत्यु भएको र उनको फोटो अनुसन्धानको लागि प्रहरी कार्यालयमा राखिएको अवस्थामा प्रहरी जवान योगिन सार्कीले कम्युटरबाट फोटो प्रिन्ट गरी राखिएको देखिएको छानबिन समितिको निष्कर्ष छ । उक्ट फोटो फागुन ९ गतेको अनुसन्धान प्रतिवेदन साथ मिसिलमा संलग्न नभएको तथा सो फोटो किर्ते गरी बद्नियतपुर्वक राखिएको नदेखिएको पनि निष्कर्ष छ ।

घटनामा संलग्न भनिएका मेहरमान दर्जी र सुदिप परियार पुर्पक्षको लागि कारागार चलन भएका छन् भने कुमार राई र रमेश गिरी धरौटीमा छुटेका छन् । यस्तै, राजेश रणहपहेलीलाई प्रहरीले बुटवलबाट पक्राउ गरी अदालतमा पेश गर्ने प्रक्रियामा रहेको र दिनेश पौडेल चोरी मुद्दामा झापामा पक्राउ परेर अनुसन्धानको लागि हिरासतमा रहेको जानकारी मोरङ प्रहरीले दिएको छ ।

यस्तो छ छानविन समितिले पेश गरेको निष्कर्ष :

प्रेम प्रसाद बास्तोलाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेश रणपहेली समेत भएको कर्तव्य ज्यान कसूरमा अनुसन्धानको क्रममा जाहेरवाला पक्षबाट अनुसन्धान मिसिलमा अर्कै फोटो बनवटी गरी राखी बदनियत पूर्वक अनुसन्धान गरेको तथा मृतकले लगाएको कपडा समेत च्यातिएको कुरा मुचुल्कामा उल्लेख नगरेको सम्बन्धी गुनासो रहेको सम्बन्धमा स्थलगत रुपमा सम्बन्धित मानिस तथा अनुसन्धान मिसिल समेतको अध्ययन गर्दा उक्त नक्कली भनिएको फोटो मिति २०७७-५-३ गते करेन्ट लागि घाईते भएका जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नं. ८ घर भई उर्लाबारी नगरपालिका वडा नं. ७ बस्ने वर्ष २६ को नविनराज घिमिरे गहतराजको गोदवारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको फोटो ईलाका प्रहरी कार्यालय उर्लाबारीमा अनुसन्धानको लागि राखिएको हुँदा प्रहरी जवान योगिन सार्कीले कार्यालयको कम्पयूटरबाट मृतकको फोटो प्रिन्ट गरी राखिएको देखिन्छ र उक्त फोटो मिति २०७७-११-९ गतेको अनुसन्धान प्रतिवेदन साथ मिसिलमा संलग्न नभएको तथा सो फोटो किर्ते गरी बदनियतपूर्वक राखिएको देखिदैन । साथै मृतक प्रबिण बास्तोलाले लगाएको कपडा ECG गर्दा गोदवारी अस्पतालका कर्मचारीले नै माथी छाती तर्फ सारेको उक्त च्यातिएको अवस्थामा देखिदैन् सो कुरा मृतकको वास्तिक फोटो, लाश जाँच मुचुल्का तथा गोदवारी अस्पतालको आकस्मिक कक्षमा हेल्थ असिस्टेन्ट धुर्व प्रसाद चौहानको कागजबाट समेत प्राष्ट छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुले अनुसन्धान मिसिलमा सम्लग्न कागजातहरु नियमित प्रमाणीकरण गर्ने तथा अनसुन्धान सम्बन्धी भौतिक सवुतको परीक्षण गर्ने र सो प्रतिवेदन अविलम्व प्राप्त गर्ने, सम्बन्धित निकाय अथवा पदाधिकारी साथै जाहेरवाला पक्षहरुसँग प्रभावकारी एवम् नियमित समन्वय र सम्पर्क गर्ने कार्यमा कमी कमजोरी गरेको देखिएको हुँदा विभागिय कारवाही अनुसार सचेत गराई जवाफदेही बनाउनु पर्ने देखिन्छ ।

छानविन समितिले पेश गरेको सुझाबहरू:

# घट्नाबाट पीडित अथवा प्रभावित परिवारजनहरुसँग अनुसन्धान अधिकृत लगायत अनुसन्धानमा खटिएका अन्य प्रहरी कर्मचारीहरुले पारदर्शी रुपमा र पीडित मैत्रीपूर्ण व्यवहार नियमित रुपमा गरी आवश्यक समन्वय, सम्पर्क, सहकार्य तथा परामर्श गर्नु पर्ने देखिन्छ ।

# लाशजाँच मुचुल्का तथा पोष्टपार्टम प्रतिवेदनमा मृतकको बाहिरी शारीरिक अवस्था र चोटपटक(घाउँखत, शरीरमा लगाएको कपडाको अवस्था सम्बन्धमा सम्बन्धित अधिकारीहरुसँग समन्वय गरी विवरण समान अवस्थाको बनाउनु पर्ने साथै अविलम्व पोष्टमार्टम गरी भिसेरा परीक्षणको लागि तुरुन्त पठाई प्रतिवेदन यथाशिघ्रा प्राप्त गर्न सम्बन्धित निकाय एवम् पक्षसँग नियमित सम्पर्क र समन्वय गर्नुपर्ने ।

# अभद्र व्यवहार कसूरमा अनुसन्धानमा रहेका प्रतिवादीहरुको कर्तव्य ज्यान कसूरमा समेत प्रतिवादी कायम भएको अवस्थामा अभद्र व्यवहार कसूरको अनुसन्धान प्रतिवेदन समेतको कार्य सम्पन्न गरेर मात्र कर्तव्य ज्यान कसूरमा पक्राउ अनुमति लिई कर्तव्य ज्यान कसूरमा अनुसन्धान अवधी प्रर्याप्त लिने रणनिति लिनु पर्ने सोको लागि अनुसन्धान अधिकृतले सम्बन्धित जिल्ला न्यायधिवक्तसँग राम्रो समन्वय गर्नु पर्ने ।

# अनुसन्धान मिसील तयार पार्दा लेखन कार्य तथा अनुसन्धानमा खटिएका अनुसन्धानका सहयोगी प्रहरी कर्मचारी समेतले पंजिका बनाउँदा लगायत अन्य कागजात गर्दा समेत गम्भिरताको साथ हेरी अनुसन्धान अधिकृतबाट नियमित रुजु तथा प्रमाणित गराउनु पर्ने ।

# लाशजाँच प्रकृति मुचुल्काको कार्य गर्दा सबै प्रकृतिका घट्नास्थल तथा लाशको प्रर्याप्त फोटो अनिवार्य लिनुपर्ने ।