विराटनगरः उत्तरी मोरङको जेफाले अब धेरैका लागि नौलो गाउँ रहेन । समुन्दी सतहभन्दा करिव १८ सय मिटरको उचाइमा रहेको यो ठाउँ कुनै समय गुमनाम गाउँ थियो भने अहिले यो प्रख्यात पर्यटकीय गन्तव्य बनेको छ । 

तर, यहाँ पुग्ने जो कोहिलाई मोवाइलको नेटवर्क नलागेर हैरान बनाउने गरेको छ । केही दिनमात्र पुग्ने पर्यटकलाई हैरान त हुन्छ नै, यहाँ रहेका स्थानीयले यो समस्या भोगेको वर्षौँ भइसक्यो । अहिले इन्टरनेटको सहज व्यवस्था भइसक्दा समेत मोवाइलको टावर राम्रोसँग लगान्ने समस्या भने उस्तै रहेको स्थानीय गीता राई बताउँछिन् । ‘मोवाइलमा नेटवर्क लाग्दैन । हामीलाई सुनसान हुन्छ,’चिया–खाजा पसल सञ्चालन गर्ने राईले भनिन्,‘मोवाइलमा घण्टि बजे डाँडातिर कुद्छौँ ।’ 

केरावारी गाउँपालिका २ मा पर्ने यस ठाउँ र आसपासका करिव ७० परिवार यो समस्याबाट पीडित छन् । निजी इन्टरनेट सेवा प्रदायक कम्पनीले अघिल्लो सालदेखि इन्टरनेट सेवा जोडिदिएका छन् । तर, मोवाइलको टावर भने लाग्दैन । गाउँ नजिकै भएको निजी टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको टावर भने राखिएको छ । तर, गाउँको उत्तरी भेगमा टावर टिप्दैन । 

‘नजिकै भएपनि एनसेलको टावरले हाम्रो गाउँ तिर काम गर्दैन,’ स्थानीय दुर्गा खड्काले भने, ‘हामीले आफ्नो समस्या राख्न नपुगेको ठाउँ छैन । तर, सम्बोधन भएन ।’ अहिले गाउँमा होमस्टेको शुरुवात भएको हुँदा हरेक हप्ता शुक्रवार र शनिवार भिड हुने गर्छ । सडक संजालले जोडिएपछि गाउँको मुहार फेरिएको छ । तर, अझै मोवाइलको नेटवर्कले काम नगरेपछि पर्यटक खिन्न हुने गरेको स्थानीय शारदा खड्काले बताइन् । 

jefale1

एक दिनमा ७० पाहुना व्यवस्थापन गर्ने क्षमता रहेको जेफालेमा हरेक वर्ष पाहुना बढिरहेको जेफाले होमस्टे व्यवस्थापन समितिका सचिव भीम ठकुरीले बताए । उनका अनुसार गाउँमा मोवाइल फोनमा टावर नलाग्ने समस्या बारे स्थानीय सरकारदेखि यस ठाउँबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेता घनश्याम खतिवडालाई समेत जानकारी गराउँदा पनि समस्या नसुल्झिएको बताए । ‘होम स्टे होटल जस्तो होइन । यहाँ आउने पाहुनाले अग्रिम बुकिङ गरे यहाँका स्थानीय परिकारको व्यवस्था गर्न सहज हुन्छ,’ठकुरीले भने, ‘टेलिफोन राम्रोसँग नबुझिँदा पाहूना र स्थानीयलाई समस्या छ ।’ 

यस क्षेत्रका सांसद घनश्याम खतिवडाले भने स्थानीयले भने अनुसारको समस्याका बारेमा अफु जानकार रहेको बताए । उनले जनताको माग बमोजिम नेपाल टेलिकम र एनसेलको टावरको क्षमता विस्तार गरि सेवा सहज बनाउन पहल भइरहेको र अब धेरै दिन नलाग्ने दाबी गरे । ‘बजार क्षेत्रमा मोवाइल नलाग्ने समस्या बारे म जानकार छु ।’ खतिवडाले भने ‘अब यो समस्या धेरै दिनसम्म रहँदैन ।’