धरान: कोशी राजमार्गस्थित धरान ८ तीनकुनेमा घाइते अवस्था बिहिबार राती भेटिएका एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुने तरहरा(आँपगाछी)का ७० बर्षीय डिल्लीराम दाहाल हुन् । उनी गए राती करिब १० बजे घाइते अवस्थामा भेटिएक थिए । तर उनलाई कुन सवारी साधनले कुन समयमा ठक्कर दिएको हो भन्ने खुल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । घाइते अवस्थामा भेटिएका दाहाललाई प्रहरीले उद्दार गरे उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।
उनको नाकबाट रगत बगेको र दाहिने हातमा चोट रहेको थियो । घाइते दाहालको उपचारको क्रममा मध्यराती १२ बजेर ४० मिनेटमा मृत्यु भएको इटहरीस्थित १ नम्बर ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दाहाललाई ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको पनि उक्त कार्यालयको भनाई छ ।