धरान: नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरेले धरानबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुमा निक्कै बर्ष सम्पादकीय नेतृत्व गरे । पछिल्लो समय उनी फाष्ट टाइम्स दैनिकको सम्पादक थिए ।
गत बर्ष कोरोना महामारी विश्वव्यापी हुने फैलने क्रममा नेपालमा पनि भित्रियो, र सरकारले चैत ११ गतेदेखि लकडाउन गर्यो । त्यसको असर नेपाली पत्रकारितामा पनि पर्यो । बिशेष गरि मोसफलबाट प्रकाशन हुँदै आएको पत्रपत्रिकाहरु प्रकाशन बन्द भए । त्यसमध्ये एक थियो, फाष्ट दैनिक ।
लकडाउनको मारमा परेर पत्रिका प्रकाशन बन्द भएपछि पत्रकार घिमिरे के गर्ने भनेर विकल्पहरु अध्ययन गर्न थाले । त्यसैबेला उनले योजना बुने, नेपालमै कच्चा पदार्थ पाउने जडीबुटीजन्य वस्तुहरुको प्रशोधन केन्द्र खोल्ने । निक्कै लामो अध्ययन र पहलपछि उनले बराहक्षेत्र नगरपालिका २ जब्दीमा प्रशोधन केन्द्र स्थापना गर्ने कामको थालनी गरेका छन् । केही दिनअघि टर्मो एग्री हर्बो प्रडक्ट एण्ड प्रोशोसिङ प्रालिको शिलान्यास भइसकेको छ । बराहक्षेत्रका मेयर निलम खनालले उद्योगको शिलान्यास गरे ।
पत्रकार घिमिरेले २ कार्यकाल अध्यक्षकोरुपमा पत्रकार महासंघ सुनसरीको नेतृत्व गरेका थिए । उनको पदचाप पछ्याउदै पछिल्लो पुस्ता पत्रकारितामा छन् । तर, घिमिरे भने हिजोआज पत्रकारिता भन्दा केही फरक व्यवसायमा हात हालेका छन् । किन ? जवाफमा उनी भन्छन्,‘म चाइना घुम्न जादा पत्रकारहरुले पनि क्रिएटिभ क्षेत्रमा, कही कृषि क्षेत्रमा, कही व्यवस्थापन क्षेत्रमा काम गरेको पाएँ । किन त्यसो गरे भनेर बुझ्दा कहिले कही अकल्पनीय परिघटनाहरु हुन्छन्, जतिबेला मिडिया चलाउनै सक्दैनौं । हाम्रो मिडिया भनेको बजार र विज्ञापनमा परपर्ने हुन्छ । विज्ञापन नआउदा पनि मिडिया बन्द गर्नुहुदैन भन्ने हाम्रो मान्यता छ । यही कन्सेप्ट अनुसार त्यसो गरेका रहेछन् ।’
पत्रकार घिमिरेले भने झैं कोरोना महामारी र लकडाउनको कारण नेपालमा पनि मिडिया क्षेत्र धरासायी भयो र धेरै पत्रकारहरुले रोजगारी गुमाए । अक्षरको खेती अर्थात समाचार लेखेर जिविका चलाइरहेका श्रमजिवी पत्रकारहरु थुप्रै वैकल्पिक रोजगारीको क्षेत्र अपनाउन बाध्य भएका छन् ।
'किसानको छोरो हुँ, कृषि क्षेत्र नै रोजे'
पत्रकार घिमिरे किसानका छोरा हुन् । त्यसैले आफुले कृषि क्षेत्रमा नै केही गर्ने सोच राखेर पाइला चालेको बताउँछन् । उनले खोल्न लागेको उद्योगमा जडीबुटीजन्य चिजहरुको प्रशोधन हुनेछ । नेपालमै प्रशस्त पाइने अदुवा, बेसार, तेजपत्तालगायतको प्रशोधन हुने घिमिरे बताउँछन् । ‘म पनि किसानको छोरो हो, ठुलो लगानीतर्फ जान सक्दिन । कृषि क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर अध्ययन गरे,’घिमिरे भन्छन्,‘आफ्नै उत्पादन आफैलाई प्रयोग गर्न सकिन्छ । यहीको कच्चा पदार्थ प्रयोग गर्ने भनेर काम गर्ने सोच पलायो ।’ उनले बराहक्षेत्र २ जब्दीमा २५ कट्ठा जमिन लिएका छन् ।
बेसारको उत्पादनलाई प्राथमिकता
घिमिरेको उद्योगमा बेसारको उत्पादनलाई प्राथमिकता दिइएको छ । बेसारलाई प्रशोधन गरेर विभिन्न १५ वटा आइटमहरु उत्पादन गर्ने लक्ष्य राखिएको छ । घिमिरेका अनुसार बेसारको पाउडर, तेल, फेस वास, चिया(टर्मो टि),साबुनलगायत बनाउने योजना छ । ‘बेसारसहितको ६५ वटा जडीबुटीको महिलाहरुलाई प्रयोग हुने इनर्जी भिटा बनाउछौं, तरल हुन्छ । अदुवाको पनि क्याण्डी, जुस बनाउने योजना बनाएका छौं,’उनी भन्छन्,‘सँगसँगै गाउँ क्षेत्रमा पाइने गुन्द्रुकलाई अत्याधुनिक तरिकाले उत्पादन गरेर अन्र्तराष्ट्रिय बजारीकरण गर्न सकिन्छ भन्ने छ ।’
उद्योग सञ्चालन भएर योजना अनुसारको सबै प्रोडक्ट उत्पादन भइसक्दा १० देखि ११ करोड लगानी हुनेछ । त्यसमध्ये ७० प्रतिशत बैंक तथा बित्तिय संस्थाहरुको लगानी हो भने ३० प्रतिशत घिमिरेकै लगानी हो । जेठ महिनाभरि प्रशोधन भवन बनाइसक्ने र आउदो साउनभरिमा पहिलो प्रोडक्ट लञ्च गर्ने योजना रहेको पनि घिमिरेले बताए । ‘किसानहरुलाई कसरी गुणस्तरीय, राम्रो उत्पादन गर्ने भनेर तालिम पनि दिलाउछौं । ल्याबमा र कृषि क्षेत्रमा बिशेषज्ञ हासिल गरेका भारत र नेपालका वैज्ञानिकहरु पनि ल्याउछौं, र कसरी उन्नत जातका अदुवा, बेसार रोप्न सकिन्छ, उत्पादन गर्न सकिन्छ । कसरी अर्गानिक तरिकाले बजारीकरण गर्न सकिन्छ भनेर सिकाउनुहुन्छ,’उनी भन्छन् ।
युवाहरुलाई स्वदेशमै कमाई गर्न सकिन्छ भन्ने सन्देश
पत्रकार घिमिरेले आफ्नो उद्योगमार्फत वैदेशिक रोजगारीमा जाने युवाहरुलाई आफ्नै गाउँ, ठाउँमा उपलब्ध स्रोतहरुलाई अधिकतम सदुपयोग गरेर कमाई गर्न सकिन्छ भन्ने सन्देश दिने बताए । स्थानीय उत्पादनलाई पनि राम्रो व्यवस्थापन र बजारीकरण गर्न सकियो भने यही राम्रो कमाई गर्न सकिने उनको भनाई छ । ‘बेरोजगारी अन्त्य गर्न निजी क्षेत्रले यति काम गर्न सकिन्छ भने सरकारले चाह्यो धेरै काम गर्न सक्छ । रोजगारी श्रृर्जना गर्ने धेरै ठुलठुला काम गर्न सक्छ,’उनी भन्छन्,‘सरकारले ५ बर्षदेखि, निजी क्षेत्रसँग मेक इन नेपाल अवधाणा ल्याएको छ । यहीको कच्चा पदार्थलाई प्रयोग गरेर नेपालमै खपत गराउने र अन्तराष्ट्रिय बजारमा लैजान सक्ने चिजहरुलाई प्रर्वद्धन गर्ने नीति छ, त्यसलाई पनि मद्दत पुग्छ ।’