धरान: मेयर हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम सँस्कृति पार्टीको धरान उपमहानगर समिति गठन भएको छ ।
धरान १६ जोरसखुवास्थित याक्खा छुम्मा भवनमा मंगलबार आयोजित कार्यक्रममा मेयर साम्पाङले पदाधिकारीहरुको नाम घोषणा गरेका थिए । उनले घोषणा गरेको पदाधिकारीहरुलाई सहभागीहरुले ताली बजाएर अनुमोदन गरेका थिए ।
पार्टीको धरान उपमहानगर कमिटी अध्यक्षमा दिनेश वान्तवा राई सर्वसम्मत चयन भएका छन् । यस्तै, चार जना उपाध्यक्षहरुमा क्रमशः लिला बुढाथोकी, विष्णु कुमारी याक्खा, भूपूभारतीय सैनिक रामकुमार लिम्बू र मुगाधन तामाङ चयन भएका छन् ।
समितिको सचिवमा प्रेम श्रेष्ठ चयन हुँदा दुई जना सहसचिवमा मुना राई र पार्वता संग्रौला चयन भएका छन् भने कोषाध्यक्षमा आशा लिम्बू चयन भएकी छिन् । कुल १३३ जना कार्यसमितिमा बाँकी सदस्यहरु हलबाट चयन भएका छन् ।
कार्यक्रममा मेयर साम्पाङका समर्थकहरुको वृहत उपस्थिति रहेको थियो । निर्वाचन आयोगमा पार्टी दर्ताको आवेदन दिएका मेयर साम्पाङले विभिन्न जिल्लाहरुमा संगठन विस्तार अभियानलाई तीब्रता दिइरहेका छन् । हिजो सोमबार झापाको काकडभिट्टामा पनि संगठन विस्तार गर्न पुगेका थिए ।
श्रम गर्न लजाउने व्यक्ति श्रम सँस्कृति पार्टीमा नआनुस्:मेयर साम्पाङ
मेयर साम्पाङले पार्टीका सदस्यहरुलाई कार्यकर्ता नभनि श्रमदाता र नेताहरुलाई पनि अगुवा श्रमदाता भन्ने बताएका छन् । आफ्नो पार्टीमा आवद्ध हुने व्यक्तिले जस्तो सुकै श्रम गर्नुपर्ने र श्रमको सँस्कृतिलाई देशभर विस्तार गर्न पार्टीको नाम नै श्रम सँस्कृति पार्टी राखेको पनि मेयर साम्पाङले बताए ।
‘यो पार्टीमा आवद्ध मान्छेले जस्तो सुकै श्रम गर्न पनि हिच्किचाउन हुदैन, तपाई बारी खन्न लजाउनुहुन्छ, खेतमा धान रोप्न लजाउनुहुन्छ भने यो पार्टीमा नआउनुस्,’ उनले भने, ‘काम गर्नुपर्छ भन्ने सँस्कृति र मान्यता, कामले मात्र देश बन्छ भन्ने कुरा देशभर बुझाउनका लागि अभियान सञ्चालन गर्नुपर्छ ।’ मेयर साम्पाङले निर्देशक सल्लाहकार समिति, श्रमदाता सुशासन समिति र निर्वाचन समिति पनि गठन गर्ने जानकारी दिएका थिए । यस्तै, पार्टीको प्रदेश र जिल्ला समिति पनि गठन हुने उनले बताएका थिए ।
भिडियो:
भिडियो:
भिडियो: