धरान: उत्पादन कम भएपछि तिहारमा सयपत्री फूल महंगिएको छ ।
पोहोर (गतसाल) ३०, ४० रुपैयामा पनि धरानमा बिक्री नभएको सयपत्री फूल यसपाली भने २ सय रुपैया मुठामा उपभोक्ताले खरीद गर्न बाध्य भएका छन् । तिहारमा लक्ष्मी पूजाको दिन र भाइटिकामा चेलीले माइतीलाई सयपत्री फूलको माला लगाउने चलन छ । यस्तै, घरको झ्याल र ढोकामा पनि फूलको मालाले सजाउने नेपाली परम्परा हो । यसले गर्दा तिहारमा सयपत्री फूलको माग अत्यधिक हुने गर्छ।
धरानल १३ स्थित कृषि थोक बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सयपत्री फूलको उत्पादन कमी भएको र भारतीय फूलको आयातलाई निषेध गरिएको कारण महंगिएको हो । ‘पोहोर किसानले भाउ नपाउदा यसपाली सयपत्री फूल रोप्ने इच्छा नै गरेनन्, किसानसँग फूल छैन । केही व्यवसायिक फर्महरुबाट अलिअलि आयो,’ उनले भने,‘भारतीय फूल पनि यसपाली आएन । किसानमैत्री त भयो, तर उपभोक्तालाई महंगीको मार भो ।’
उनका अनुसार गत बर्ष ३०, ४० रुपैया मुठामा पनि बिक्री हुन नसकेर किसानहरुले सयपत्री फूल कृषि बजारमा फ्याकेर हिडेका थिए । कृषि बजारलाई ती फूलहरु मल बनाउन हैरान परेको पनि उनले स्मरण गरे । ‘धरानलाई मात्र ४ लाख माला आवश्यक पर्ने देखिन्छ, तर यसपाली माग अनुसार २५ प्रतिशत मात्र फूल छ,’ उनले भने,‘कृषि बजारमा निषेध गरेपनि अब भारतीय फूल ल्याएर व्यापारीले सिधै भानुचोकतिर बेच्न सक्छन् । मखमली फूल वा सयपत्रीको थुंगा च्यातेर माला उनेर चलाउनुपर्ने अवस्था आउन सक्छ ।’
विगतका बर्षहरुमा कृषि बजारमा रहेको शीत भण्डार (कोल्ड स्टोर) का सबै कोठा तिहारको मुखमा भारतीय फूलको रेडिमेड मालाले भरिएको हुन्थ्यो । यसपाली धरान उपमहानगरको नीति र कृषि बजारले पनि भारतीय फूलको आयातलाई निरुत्साहित गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले निषेध गरिएको छ । तर, यसैपाली पुर्वीपहाडका किसानहरुले पनि फूल खेती नगरेपछि बजारमा फूलको अभाव सृर्जना भएर भाउ आकासिएको छ । ‘विदेशी फूल नल्याउने हो भने सरकारले पनि कति माग छ, त्यसअनुसार फूल उत्पादन गर्न किसानलाई प्रेरित गर्ने नीति बनाउनुपर्छ,’ व्यवस्थापक भट्टराईले भने ।
फूल व्यापारी टिकाराम श्रेष्ठका अनुसार धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुरमा सयपत्री फूल उत्पादन हुनेगर्छ । तर, यसपाली धनकुटाको केही किसानहरुले मात्र फूल खेती गरेको कारण महंगो भएको उनले बताए । ‘धनकुटाको पात्ले खोला, सेउले कागते तिरबाट मात्र आयो । भोजपुर, तेह्रथुम, संखुवासभाबाट आउदै आएन,’ उनले भने,‘पोहोर फूल बिक्री नभएकोले यसपाली खेती नै गरेनन् । अर्को कारण पानीले पनि विरुवा खाइदियो ।’
समय हेरेर फूल नपरेको कारण पनि समयमा नै फूल नफूल्दा अभाव भएको उनको भनाई छ । ‘फूल रोपेपनि अहिलेसम्म कोपिला बसेको छैन, तिहार छिटो भयो । कुन समय रोप्दा तिहारमा फूल्छ भनेर हिसाब नगरि रोप्दा पनि यस्तो भयो,’ उनले भने,‘पोहोरको अनुपातमा ४ भागको एक भाग मात्र फूल आएको छ ।’
अर्का व्यापारी श्याम जैसवालले पनि फूल कम उत्पादन भएपछि एउटा किसानको खरिद गर्न १० जना व्यापारी पुग्दा भाउ स्वभाविकरुपमा वृद्धि हुने बताए । ‘ग्राहकले हामीलाई महंगोमा बेच्यो भन्नुहुन्छ, तर किसानबाट खरिद गर्दा नै हामीलाई महंगो पर्यो,’उनले भने,‘१० गाडा हुने ठाउँमा एक गाडी मात्र फूल छ, १० जना व्यापारी लिन पुग्दा किसानको भाउ त्यसै बढीहाल्छ ।’
भिडियो: