धरान: आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षिकोत्सव तथा पहिलो साधारण सभा सम्पन्न भएको छ ।
धरान ६ पानवारीस्थित केन्द्रको भवनमा नेपाल प्रहरी श्रीमति संघकी अध्यक्ष सिर्जना थापाको प्रमुख आतिथ्यमा आइतबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष थापाले दुर्व्यसनीमा फसेका युवा पिढीलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुर्नजीवन प्रदान गर्ने कार्य केन्द्रले गर्दै आइरहेको बताइन्् । साथै उनले ती युवाहरुलाई समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना पनि गरिरहेको बताइन् । केन्द्रले आगामी दिनमा थप ब्यवस्थित र प्रभावकारीरुपमा अघि बढ्ने पनि बताइन् ।
कार्यक्रममा प्रमुख अतिथी थापाले केन्द्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा केन्द्रका पुर्व व्यवस्थापक पुर्व प्रहरी नायव उपरिक्षक रामजी कट्वाललाई प्रशंसा पत्रले सम्मान पनि गरेकी थिइन् । कार्यक्रममा धरान उप(महानगरपालिकाका मेयर तिलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, आसरा सुधार केन्द्र धरानका मानार्थ सदस्य मनोज कुमार मेयाङबोले शुभकामना मन्तब्य राखेका थिए ।
यस्तै, विभिन्न खेलकुद बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी श्रीमती संघकी महासचिव बबिता पाल तथा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रृजना थापा कार्कीले पुरस्कार प्रदान गरेका थिए । केन्द्रका अध्यक्ष प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रशिक्षार्थीहरुबाट गायन, नृत्य तथा कविता बाचन समेत भएको थियो ।