धरान: धरानका अग्रज पत्रकार गोपाल देवानसहित ४ जना पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघ सुनसरीले सोमबार इटहरीमा एक कार्यक्रम आयोजना गरि उनीहरुलाई पुरस्कारसहित सम्मान गरेको हो । पुरस्कृत हुनेमा धरानका अग्रज पत्रकार देवानसँगै सुविद गुरागाई, चेतन धमला र रश्मी प्रधान छन् । पत्रकार देवानलाई पत्रकार सालिकग्राम पान्डे र मेनुका पान्डेले आमा लक्ष्मी र बुबा चन्द्रबहादुर पान्डेको नाममा स्थापना गरेको चन्द्र-लक्ष्मी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । उनलाई सम्मान पत्रसँगै नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो ।
यस्तै, पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले स्थापना गरेको स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति पुरस्कारबाट अग्रज पत्रकार गुरागाई र चेतन धमलालाई संयुक्तरुपमा सम्मान गरिएको थियो । यो पुरस्कारको राशी नगद २५ हजार रहेको छ । यसैगरि, पत्रकार महासंघ सुनसरीकी कार्यालय सचिव रश्मी प्रधानलाई महासंघको कर्मचारी भएर काम गरेबापत प्रोत्साहन स्वरुप नगद पाँच हजारसहित पुरस्कृत गरिएको अध्यक्ष अमर खड्काले जानकारी दिए । चारै जनालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री कार्की, पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति धर्मेन्द्र झा, महासंघ सुनसरी अध्यक्ष खड्का लगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।