झापा: झापा जिल्लाको दमकमा ट्रिपर र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते छन् ।  

शनिबार साँझ करिब साढे ५ बजे दमक ४ मा पर्ने पुर्वपश्चिम राजमार्गस्थित चियाबगानमा विपरीत दिशाबाट आएको ट्रिपर र मोटरसाइकल एकआपसमा जुधेको थियो । उक्त सडक दुर्घटनामा परी गम्भीर घाइते मोरङ रतुवामाई ८ का २३ बर्षीय निरन बस्नेत र २४ बर्षीय अनिश कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बस्नेत मोटरसाइकल चालक थिए भने कोइराला पछाडि सवार थिए । बस्नेतको विर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।  कोइरालालाई भने दमककै लाइफलाइन अस्पतालमा उपचारमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो । उनीहरु सवार मोटरसाइकलमा नै रहेका करिब १८ बर्षीय हर्षित बास्तोला पनि घाइते छन् । उनको बिएण्डसि अस्पतालमा उपचार भइरहेको छ । 

दमक प्रहरीका अनुसार मोटरसाइकल ट्रिपर मुनि पसेको थियो । सोही क्रममा ट्रिपरसँग अर्को मोटरसाइकल पनि ठोक्किएको थियो । उक्त मोटरसाइकलमा सवार उर्लाबारी ८ का ४० बर्षीय तुलाराम ढुंगाना र ८५ बर्षीय शिवलाल ढुंगाना पनि घाइते छन् । उनीहरुको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको दमक प्रहरीले जनाएको छ । ट्रिपर र ट्रिपर चालक प्रहरी नियन्त्रणमा रहेको छ ।