धरान: पृथीबहादुर थेवे स्मृति प्रतिष्ठानले पत्रकार प्रदीप मेन्याङ्बोलाई पुरस्कृत गरेको छ ।
थेवेको १४७ औं जन्मजयन्ती र उनको स्मृतिमा स्थापित प्रतिष्ठानको ११ औं बार्षिक साधारण सभाको उद्घाटन समारोहमा पत्रकार मेन्याङ्बो पुरस्कृत भएका हुन् । उनलाई दिल–शिव ट्रष्ट मार्फत नगद १० हजार रुपैयासहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । प्रदेश १ का सांसद विष्णु तुम्बाहाम्फेको उपस्थितीमा सम्पन्न उक्त साधारणसभामा मुन्धुमी साहित्यकार एवं पत्रकार मेन्यांगबोलाई पुरस्कृत गरिएको थियो । पत्रकारितासंगै नेपाली साहित्य र मुन्धुमी साहित्यको उन्नयनमा दिएको योगदानको कदर गर्दै पत्रकार मेन्याङ्बोलाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ ।
उक्त अवसरमा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा कमल तिगेलालाई अभिनन्दन गरिएको थियो । पृथीवहादुर थेवेका नाती पुस्ताहरु नवीन थेवे, सूर्य र किरण टि थेवेले दोश्रो विश्वयुद्धका साक्षी पुर्व व्रिटिश गोर्खा लाहुरे पिता दिलबहादुर थेवे र आमा शिवमायाको नाममा दिल–शिव ट्रस्ट स्थापना गरिएको हो । ट्रष्टले प्रतिष्ठानसंग मिलेर ताप्लेजुङ, झापा, मोरङ र सुनसरी लगायतका विभिन्न छात्रवृत्ति वितरण र समाजमा योगदान दिनेहरुको कदरस्वरुप सम्मान गर्दै आएको छ ।
धरान–१४ स्थित चोङबाङ रिसोर्टमा शनिबार सम्पन्न साधारणसभाले थुप्पुको थेवे बंशको ऐतिहासिक पुर्खा पृथीवहादुर थेवेको स्मृतिमा स्थापित प्रतिष्ठानलाई समाजको हितमा थप कल्याणकारी बनाउदै ३४औं पुस्तामा हस्तान्तरण गर्ने निति अख्तियार गरेको छ । राणाकालमा पुर्वी लिम्बुवानको साविक सिनामा जन्मेका थुप्पुको थेवे बंशका पृथीवहादुर थेवेका नाती पुस्ताहरुले बाजेको सम्मानमा स्थापित प्रतिष्ठानलाई लोक कल्याणकारी सामाजिक क्षेत्रमा काम गर्न नया पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै जानु पर्नेमा जोड दिइएको थुप्पुको थेवे समाज सुनसरीका अध्यक्ष ज्ञानबहादुर थेवेले बताए । उद्घाटन समारोहमा प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद थेवे, दिल–शिव ट्रष्टका संस्थापक सदस्य किरण टि थेवेलगायतले आफ्नो धारणा राखेका थिए ।