धरान: बालबालिकाहरुलाई मिडियाप्रति आकर्षण गर्न धरान उपमहानगरपालिका वडा नम्बर ४ को बालसञ्जाललाई एक दिने मिडिया उत्प्रेरणा तालिम दिएको छ ।
वडाको बालबालिका लक्षित कार्यक्रम अन्र्तगतको बजेटबाट पिस मिडिया ग्रुपले तालिमको आयोजना गरेको हो । वडाको आर्थिक सहयोगमा भएको तालिममा बाल सञ्जालमा आवद्ध रहेका १४ वटा बाल क्लबका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कोशीपत्र दैनिकका सम्पादक तथा महेन्द्र बहुमुखि क्याम्पसका प्राध्यापक राजेश विद्रोहीले तालिमको सहजीकरण गरेका थिए ।
बालबालिकाहरुलाई मिडिया प्रति आकर्षित गर्दै सञ्चारक्षेत्रमा पहुँच बढाउन तालिम महत्वपुर्ण रहेको सहभागिहरुले बताएका छन् । मिडियाको उपयोगिताको बारेमा जान्ने अवसरले बालबालिकाको क्षमता समेत अभिवृद्धि भएको उनीहरुको भनाई छ । तालिममा आमसंचारको महत्व, पत्रकारिताको मुल्य मान्यता र नेपालमा शुरुवातको विषयमा सहजकर्ता विद्रोहीले सहजीकरण गरेका थिए ।
बाल सञ्जाल वडा नम्बर ४ की अध्यक्ष प्रमिला राईको सभापतित्वमा भएको कार्यक्रममा बालक्लबका २५ जना प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक पिस मिडिया ग्रुपका संयोजक दिनेश गजमेरले बताए । कार्यक्रममा वडा नम्बर ४ का वडासदस्य धन बहादुर राई, गिता कुमारी राई लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।