उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिका ४ नमुनाबाट लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी ५ का २३ बर्षीय सुनिल राई, उदयपुर त्रियुगा १३ का २४ बर्षीय हरी खड्का, ३० बर्षीय खगेन्द्र राई र २४ बर्षीय दिपक रम्तेल रहेका छन् भने सप्तरी कंकालिनीका २० बर्षीय बब्लु मुखिया र २५ बर्षीय ऋषि कुमार क्षेत्री रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह साढे ४ बजे पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट ३ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, ७ बोतल कोरेक्स, ५० ग्राम गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी उनीहरुको साथमा रहेको ६ थान मोबाईल नगद ३ हजार ५ सय २५ रुपैया समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।