धरान: पछिल्लो समयमा भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि नेपालमा संक्रमण दर बढ्नसक्ने भएकोले विज्ञहरुले सचेत गराइरहेका छन् । खास गरि सिमावर्ती जिल्लाहरुमा हुने आवतजावतलाई अझै कडाई गर्नुपर्ने उनीहरुको सुझाव छ ।

सुनसरी पनि भारतसँग सिमा जोडिएको जिल्ला हो । भारतमा फैलिएको संक्रमण असर यो जिल्लामा पनि पर्ने जोखिम छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल स्वास्थ्य मापदण्डलाई पुर्णरुपमा पालना गर्नुको विकल्प नभएको बताउँछन् । नेपाल भारत सिमा क्षेत्रबाट मानिसहरु आउजाउ गर्दा पनि स्वास्थ्य जाँचलगायतका सुरक्षा मापदण्ड पालना गर्नुपर्ने उनले बताए । ‘सबैले सावधानी अपनाउनु नै तपाई हाम्रो हित हुन्छ । त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्नुस्, भिडभाड नगर्नुस् भनेर अनुरोध गरेका छौं,’प्रजिअ ढकाल भन्छन्,‘मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्छ, भिडभाडमा नजानु नै उत्तम हो ।’

विभिन्न हल्लाहरु चलेपनि अहिलेसम्म प्रशासनले भेला वा जम्मा हुन भने नरोकेको पनि उनले प्रष्ट पारे । केन्द्र सरकारबाट पनि त्यसबिषयमा कुनै निर्देशन नआएको प्रजिअ ढकालले बताए । ‘मानिसहरु भेला, जम्मा हुन रोक्नु भन्ने निर्देशन छैन,’उनले भने,‘सिमा क्षेत्रमा हिजोदेखि जुन विधि र स्वास्थ्य सुरक्षा जाँचको व्यवस्था थियो, त्यसलाई गर्दैछौ ।’

भारतबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्नको लागि तयारी थालिएको पनि उनले बताए । ‘क्वारेन्टाइनको तयारी गर्न थालेका छौं, तत्काल राख्न थालेको भने छैन,’उनले भने । नजिकिदै गरेको होली पर्वलाई रोक्न पनि निर्देशन नआएको उनले बताए । ‘होली साँस्कृतिक पर्व हो, सतर्कता अपनाउन भनेका छौं । रोक्नु भन्ने निर्देशन छैन,’ उनले भने ।