सुनसरी: इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा धरान उपमहानगरपालिकाले बिजयी सुरुवात गरेको छ ।
जिपि फाउन्डेसन प्रदेश १ खेलकुद विभागले आयोजनामा गरेको प्रतियोगितामा शुक्रबार भएको खेलमा धरानले उर्लाबारी नगरपालिकालाई २–० गोलअन्तरले हरायो । जितसँगै धरान प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । धरानको जितमा एन्सन राई र मिलन लिम्बुले गोल गरेका थिए । एन्सनले खेलको ५१ औ मिनेटमा गोल गरे भने मिलनले खेलको ८३ औ मिनेटमा गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच धरानका एन्सन राई घोषित भए ।
शनिबारको खेल सुनसरीको इनरुवा नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बिच हुने आयोजक समितीका अध्यक्ष सुर्य राइले जानकारी दिए । इटहरीस्थित रंगशालामा जारी प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन । प्रतियोगिताको विजेता टिमले २ लाख र उपबिजेताले १ लाख पुरस्कार पाउने छन् ।
चैत्र २१ गतेसम्म चल्ने प्रतियोगितामा २५ लाख अनुमानित खर्च हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन बिहिबार कांग्रेस महामन्त्री डाक्टर शशाङ्क कोइरालाले गरेका थिए । तर, उद्घाटन खेल भने समय अभावको कारण स्थगित भएर शुक्रबारदेखि मात्र भएको हो ।