धरान: धरानमा मोबाईल मर्मत र सिलाई कटाई तालिम आयोजना भइरहेको छ । 

शुक्रबारदेखि सुरु भएको मोबाईल मर्मत तालिममा ४० जना युवायुवतीहरु सहभागी छन् । यस्तै, एक हप्ता अघिबाट सुरु भएको सिलाई कटाई तालिममा २० जना महिलाहरु सहभागी भएका छन् । नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको समृद्धि परियोजनाको सहयोग तथा हेल्भाटास नेपालको प्राविधिक सहयोगमा धरान १५ स्थित पूर्वाञ्चल बहुप्राविधिक तालिम केन्द्रमा तालिम सञ्चालन भइरहेको छ ।

तालिमका संयोजक गणेश तामाङका अनुसार ४० जनालाई दुई समुहमा विभाजन गरेर बिहान र बेलुका मोबाइल मर्मत तालिम दिन सुरु गरिएको हो । मोबाइल मर्मत तालिममा १२ जना युवतीहरुले समेत सहभागिता जनाएका छन् । प्रशिक्षार्थीहरुलाई सिटिभिटिको पाठ्यक्रम अनुसार ३ सय ९० घण्टा (६५ दिन) समय अवधिभर तालिम दिईने तामाङले बताए । उनले अहिले समृद्धिको प्रोजेक्ट अन्तर्गत दुई वटा तालिम दिन थालिएको जानकारी दिए ।

traning1

धरान उपमहानगरपालिकाका सामाजिक शिक्षा अधिकृत भक्तिराज शर्माले तालिम उपलब्धीमुलक र आत्मनिर्भर बन्न सहज हुने बताए । तालिमको अनुगमन तथा निरीक्षण धरान उपमहानगरपालिकाले गर्ने उनले बताए । उनले भने,‘यो कार्यक्रम विषेश गरेर टाइम पासको लागि मात्र हैन, यसले भोली गएर हामि आफ्नै स्थानीय तहमा केही गर्छौ, जसले चाँही गर्दा भोलि गएर स्वरोजगार हुन्छौं ।’ उनले तालिममा सहभागि भएकाहरुलाई ६५ दिने तालिम सकिएपछि सहभागिहरुको धरान उपमहानगरपालिकामा अभिलेख राख्ने बताए । ‘उपमहानगरपालिकाले पनि मन्त्रालयसँग सहकार्य गरेर यस्तै तालिमका प्याकेजहरु सञ्चालन गर्छौ,’उनले भने । traning2