सुनसरी: इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा इनरुवा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । 

शनिबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाइ ३–० गोल अन्तरले पराजित गर्दै इनरुवाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । इनरुवाको जितमा अभिषेक कालिकोटेले २ गोल गरे । अर्को एक गोल पर्वत कार्कीले गरेका थिए । कालिकोटेले खेलको १३ औं र ७८ औं मिनेटमा गोल गर्दा कार्कीले खेलको २१ औं मिनेटमा गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच इनरुवाका पर्वत कार्की घोषित भए । उनले नगद ३ हजारसहित ट्रफी पाए ।

            इनरुवा नगरपालिकाले अब सेमिफाइनलमा आइतबार हुने इटहरी उपमहानगरपालिका र दमक नगरपालिका बिचको बिजेतासंग चैत्र १८ गते प्रतिष्पर्धा गर्नेछ । इटहरी स्थित क्षेत्रिय रंगशालामा जारी प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन । प्रतियोगिताको विजेता टिमले २ लाख उपबिजेतालाई १ लाख पुरस्कार पाउने छन । चैत्र २१ गतेसम्म चल्ने प्रतियोगितामा २५ लाख अनुमानित खर्च हुने बताइएको छ ।