धरान: प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले होली पर्वको शुभकामना व्यक्त गरेका छन् ।
सभामुख भण्डारीले आज एक शुभकामना सन्देशमार्फत होली पर्वले नेपाली बीचको एकता, भातृत्व, सहकार्य तथा सहिष्णुतालाई अझ प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरेका छन् । रंगहरुको प्रयोग गरेर एकआपसमा माया, प्रेम साटासाट गर्दै मनाइने होली सबै नेपालीहरुको साझा साँस्कृतिक पर्वकोरुपमा विकास हुँदै आएको पनि सभामुख भण्डारीले उल्लेख गरेका छन् । साथै, यो पर्वले मुलुकमा दिगो शान्ति कायम गर्दै विकसित एवं समृद्ध राष्ट्र निर्माणको साझा लक्ष्य प्राप्त गर्न सहकार्यका साथ अघि बढ्ने प्रेरणा मिलोस् भन्ने पनि सभामुख भण्डारीले कामना गरेका छन् ।
पर्वको नाममा हुने विकृतिहरुलाई निरुत्साहित गर्दै सभ्य र उत्साहको साथ यो पर्व मनाउदै सामाजिक तथा साँस्कृतिक मुल्य मान्यतालाई कायम राख्नु सबैको जिम्मेवारी भएको पनि सभामुख भण्डारीले सन्देशमा उल्लेख गरेका छन् । कोरोना महामारीको संक्रमणको अवस्था पुनः भयावहरुपले आउन सक्ने सम्भावना देखिदै गएकोले स्वास्थ्य सम्बन्धी सुरक्षाका आवश्यक मापदण्डहरुको पुर्ण पालना गर्दै यो पर्वलाई घरमा नै बसेर सुरक्षित ढंगले मनाउन पनि सभामुख भण्डारीले सबैलाई आग्रह गरेका छन् ।