विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रालयका आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकी छिन् । 

मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि आज पत्रकार सम्मेलन गरि मन्त्रालयका सवै कार्यक्षेत्रलाई समेटेर मन्त्री राईले आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकी हुन् । दोश्रो चरणको कोरोना संक्रमण बढ्ने संभावनालाई ध्यानमा राखेर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई पुन ः सञ्चालनको तयारी गरिएको मन्त्री राईले बताइन् । पुनः सञ्चालनका लागि अस्पतालको निरीक्षण गरि आवश्यक निर्देशन पनि दिइसकेको उनको भनाई थियो । 

मन्त्री राईले प्रदेशमा रहेका यसअघि कोरोना उपचारमा संलग्न अस्पताललाई तयारी अवस्थामा रहन आग्रह समेत गरिन् । उनले सवै जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेडसम्म कोभिड आईसोलेसन वार्ड तयार गरि उपचारको व्यवस्थापनका लागि निर्देशन दिईने बताए । उनले स्वास्थ्य वीमा कार्यक्रमले नसमेटेका र पैशाको अभावमा उपचार गर्न नसक्ने गरिव जनताका लागि आवस्यक कार्यविधि र मापदण्ड बनाएर लागु गरिने बताइन् । 

उनले विद्यालय शिक्षाको गुणस्तरमा सुधार गर्न भौतिक पूर्वाधार निर्माण, विस्तार तथा जनशक्तिको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताइन् । मन्त्री राईले महिलाको सुरक्षाको सवालमा अन्तर मन्त्रालय समन्वय गरि विशेष ध्यान दिईने बताइन् ।

usha

प्रदेश स्तरमा सञ्चालित जेष्ठ नागरिक लक्षित दन्त उपहार तथा आँखा उपचार कार्यक्रम सञ्चालनका लागि योजना बनाएर लागु गरिने मन्त्री राईको भनाई थियो । स्थानीय तह, प्रदेश सरकार र सामाजिक विकास संस्थासँगको सहकार्यमा सडक आश्रित, सहयोगापेक्षी मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिईने सामाजिक विकास मन्त्री राईले बताइन् । उनले प्रदेश खेलकुद बोर्ड र जिल्ला खेलकुद विकास समितिहरु चाडै गठन गरिने बताइन् । 

सामाजिक विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यहरुलाई आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधि आदिको तर्जुमा गर्ने र विद्यमान कानूनहरुको समयानुकुल संशोधन गरिदै लगिने उनले बताइन् । मन्त्री राईले व्याण्ड भर्सेज ब्राण्डको अवधारणा अनुसार नेपाली कोदोको रक्सिलाई ब्राण्डिङ गर्ने कार्यको बारेमा कानूनी र व्यवहारिक पक्षको अध्ययन गरि लागू गरिने बताइन् ।