मोरङ: शुक्रबार विभिन्न स्थानमा भएको घटनामा ३ जनाको मृत्यु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको जहदा १ भुटाहा चोकमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटर ताप्लेजुङ्गका २६ बर्षीय दिपक तामाङलाई बकेटले लागेर घाइते भएका थिए । शुक्रबार दिउसो साढे २ बजे स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्केर उनलाई लागेको थियो । गम्भीर घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यस्तै, झापाको बुद्धशान्ति गाऊपालिका ३ सात नम्बर चौकमा पर्ने मेची हाईवेमा बोलेरो पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राती साढे ८ बजे उत्तरतर्फ जादै गरेको मे १ च ६४१३ नम्बरको बोलेरो पिकअपले करिब ४० बर्षीय पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना गराउने बोलेरो र चालक मेचिनगर ३ बाहुनडाँगीका ५४ बर्षीय चुनचुन सन्तोष राई नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
यसैगरि, मोरङको केराबारी गाऊपालिका ८ आमजुङीका ४५ बर्षीया कुमारी लिम्बुको ढुंगाले किचेर मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे १ बजे खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागेर नजिकै रहेको ठुलो ढुङ्गामा अडेस लागी सितलमा बसिरहेको अबस्थामा सोही ढुङ्गाले किचेर लिम्बुको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।