धरान: किरात राई यायोक्खा धरान उपमहानगर कार्य समितिले आयोजना गरेको १५ दिने  साकेला सिली र ढोल बजाउने तालिम सम्पन्न भएको छ । 

धरान १० स्थित रहेको यलम्बर संग्राहलय भवनमा चैत्र १४ गतेदेखि सुरु भएको साकेला सिली र ढोल बजाउने तालिम आज सम्पन्न गरेको हो । नगर अध्यक्ष लोकेन राईका अनुसार धरान नगरका प्रारम्भिक कार्यसमितिबाट आएका ७४ जना प्रतिनिधिले साकेला सिली र ढोल बजाउने तालिम लिएका थिए । सहभागीलाई मानव जाति जन्मेदेखि मृत्युसम्म झल्काउने सिली र पशुपन्छी जनावरको हाउभाउ प्रदर्शन गर्ने सिलीको सीप प्रदान गरिएको प्रशिक्षक महेश्वर राईले बताए । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले तालिममा प्रशिक्षण लिएका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । मेयर राईले संस्कार, संस्कृति पुस्तान्तरण हुनुपर्ने बताए । उनले संस्कृतिलाई छेडछाड गर्न नहुने धारणा राख्दै भने,‘नक्कल मात्रले पर्याप्त हुँदैन, सैद्धान्तिक ज्ञानसमेत लिनुपर्छ ।’ किरात राई यायोक्खाका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका मेयर राईले विभिन्न वर्ग, समुदायको संस्कार, संस्कृतिको जगेर्ना र उन्नयनमा लाग्न नगर सरकार प्रतिबद्ध भएको पनि बताए ।