धरान: खानेपानीको माग गर्दै दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले धरान १६ स्थित खानेपानीको विल काउन्टर बन्द गरेर धर्ना दिइरहेको छ । 

धरानमा चरम खानेपानी अभाव हुन थालेपछि विरोधमा उत्रिएको संघर्ष समितिले एक सातादेखि काउन्टरमा ताला लगाएर धर्ना दिन थालेको हो । खानेपानी संस्थान हस्तान्तरण भइसकेको हुनाले हाल उक्त विल काउन्टर धरान खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गत रहेको छ ।  संघर्ष समितिले बन्द गराएपछि उपभोक्ताले महशुल बुझाउन पाएका छैनन् । जसले गर्दा बोर्डको आम्दानी गुमिरहेको छ । 

संघर्ष समितिका संयोजक हर्क साम्पाङले अन्य महशुल केन्द्रहरु पनि बन्द गराएर धर्ना दिने चेतावनी दिए । उनले बैशाख १ गतेसम्म मागहरु सम्बोधन नभए २ गतेको दिन मेयर तिलक राईको घर घेराउ गर्ने पनि चेतावनी दिए । ‘अहिलेको धरानको नेतृत्वले जनताको आवाज सुनेन, माग सम्बोधन भएन । त्यसैले अरु विल काउन्टरहरु पनि बन्द गराउछौं,’उनले भने,‘बैशाख १ गतेसम्म माग सम्बोधन नभए २ गते मेयरको घर घेछौं ।’

khanepani1

संघर्ष समितिले सबै धराने जनताको घरमा पानी पुग्नुपर्ने र सहुलियत दरमा शुल्क दिनुपर्ने मागलाई प्राथमिकता दिएको छ । खानेपानी संस्थानको धरान शाखालाई जर्बजस्ती बोर्डमा गाभेपछि धरानमा खानेपानीको चरम अभाव भइरहेको साम्पाङले बताए । ‘हप्तामा २ ग्राग्री मात्र पानी आउछ । ट्यांकर कुदेको कुदेकै छ, जनताले जारमा पानी किनेर खाइरहनुपरेको छ,’उनी भन्छन्,‘दैनिक १६ घण्टा पानी खुवाउछौं भनेर आयोजना ल्याएको हो, एक दुई घण्टा मात्र भएपनि हुन्छ । तर पानी नै छैन ।’