विराटनगर: सुनसरी र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
हिजो राती पौने ८ बजे सुनसरी ईटहरी ६ पुर्वपश्चिम राजमार्गमा पुर्वतर्फ जादै गरेको ना ५ ख ११११ नम्बरको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिपरित दिशाबाट आउदै गरेको को ३३ प ३२४० नम्वरको मोटरसाईकललाई उक्त बसले ठक्कर दिँदा मोटरसाईकल चालक ईटहरी ८ का ४२ बर्षीय बिरेन्द्र चौधरी गम्भिर घाईते भएका थिए । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक ईटहरी १२ खनार का ३८ बर्षीय सन्तोष विक नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
यस्तै, आज बिहान ६ बजे मोरङ धनपालथान गाउँपालिका ४ स्थित भलुवा चौकमा पश्चिम तर्फ जादै गरेको को २७ प ६४५९ को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाईकल चालक रंगेली नगरपालिका २ का २३ बर्षीय भोला शर्मा र पछाडी सवार २२ बर्षीय कासमिक मुर्मु गम्भिर घाईते भएका थिए । दुवैलाई कोशी अस्पताल विराटनगरमा उपचारको लागि भर्ना गरिएको थियो । उपचारको क्रममा चालक शर्माको ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाईते मुर्मुको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।